Logo

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस प्रस्ताव पारित

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस प्रस्ताव पारित



काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिए भने सेयरधनीहरुबाट उठाइएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप पुष्टयाई गरे । साथै, कोषको कारोबारलाई क्रमश सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गर्दै लगिनेमा उनले जोड दिए ।

उनले सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताए । आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता उनले व्यक्त गरे । कोषको एकिकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकोले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको बताउँदै उनले भने,‘आगामी वर्षदेखि रिकन्सिलेसन समस्या समाधान हुँदै जाने छ ।’

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL