Logo

डेडिकेटेड ट्रंक लाइन विवाद : उद्योगीले आफै काटे आफ्नो उद्योगको बिजुली

डेडिकेटेड ट्रंक लाइन विवाद : उद्योगीले आफै काटे आफ्नो उद्योगको बिजुली



काठमाडौं । डेडिकेटेड ट्रंक लाइनको विवादका कारण आईतबारदेखि उद्योगीहरुले आफ्ना उद्योगको विजुली आफै काट्न सुरु गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले असार २५ र २६ गते ५ वटा उद्योगमा बिना कारण विद्युत् आपूर्ति बन्द गरेको र हालसम्म पनि उक्त बिजुली नजोडीदिएको भन्दै आफुलाई पीडित प्रताडित भन्ने केहि उद्योगहरुले आफै बिजुली कट गर्न सुरु गरेका हुन् ।
यसअघि डेडिकेटेड ट्रंक लाइन विवादमा परेका उद्योगी समूहले गत असार २७ गते नै विज्ञप्ति मार्फत प्राधिकरणको उक्त कदमको विरोध गरेका थिए । यस्तै, उक्त विज्ञप्ति मार्फत बिजुली कटौती गरिएका उद्योगमा निर्बाध रूपमा प्राधिकरणले बिजुली आपूर्ति नगरे बाँकी उद्योगमा आफैँ बिजुली आपूर्ति बन्द गर्ने जानकारीसमेत गराएका थिए ।

उक्त विज्ञप्ति पछि पनि प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न अग्रसरता देखाउनु भन्दा पनि उद्योगीलाई तर्साउने र धम्काउने कामलाई निरन्तरता दिएको उद्योगीहरुको भनाई छ ।

उद्योगीलाई अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको गुनासो उनिहरुको छ । जसका कारण उक्त उद्योगी समूहले गत असार २७ गते जानकारी गराए अनुसार नै असार ३० गते, आइतबारबाट स्वतःः स्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL