Logo

प्राधिकरणले छापामार शैलीमा विद्युत काट्यो, नजोडे हामी आफै आफ्नो उद्योगको बिजुली काट्छौं : उद्योगी

प्राधिकरणले छापामार शैलीमा विद्युत काट्यो, नजोडे हामी आफै आफ्नो उद्योगको बिजुली काट्छौं : उद्योगी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल लाइन काटिएका ५ उद्योगको बिजुली नजोडे अन्य उद्योगको लाइन आफै काट्ने चेतावनी उद्योगीहरुले दिएका छन् । नेपाल विद्युत प्राधिकरणले विभिन्न ५ उद्योगको बिजुली काटिदिएपछि उद्योगी रुष्ट बनेका हुन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पिडित तथा प्रताडित उद्योगीहरुले उक्त कुरा बताएका हुन् । डेडिकेटेड ट्रंक लाईनको विद्युत बक्यौता महशुल विवादका कारण गएको मंगलबार र बुधबार गरी विद्युत प्राधिकरणले विभिन्न ५ उद्योगको बिजुली काटिदिएको छ ।

डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्‌ले निर्देशन कार्यान्वयन नगरी नेपाल विद्युत् प्राधिकरणले उ‌द्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेको उद्योगीहरुको दावी छ ।

नेपाल विद्युत् प्राधिकरणले लाल आयोगले दिएको सुझाव तथा मन्त्रीपरिषद्‌ले दिएको निर्देशन विपरीत हुने उद्‌द्योगीलाई पत्र पठाएपछि उ‌द्योगीले कुन आधारमा अतिरिक्त महसुल भुक्तानी गर्नु पर्ने हो त्यसको आधार र कारणका विषयमा जानकारी माग गर्दै पत्र लेखेको थियो ।

प्राधिकरणले व्यवसायीको रूपमा उ‌द्योगीसँग अतिरिक्त रकम लिनु पर्ने आधार कारण र प्रमाण दिन नसकेको उद्योगीहरुको भनाई छ । उल्टै म‌ङ्गलवार बेलुका ३ वटा उ‌द्योगमा छापामार शैलीमा बिजुली आपूर्ति बन्द गर्ने निर्णय भएको उनिहरुको दावी छ ।
‘नेपाल विद्युत् प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट तथा जगदम्बा सिन्थेटिक र हुलास स्टील गरी ५ उ‌द्योगमा तत्काल विद्युत् आपूर्ति निरन्तर नबनाए हामी उ‌द्योगीहरू निर्बाध रूपमा आ–आफ्नो उ‌द्योगको बिजुली आफैं कटौती गर्नेछौं,’ उद्योगीहरुद्वारा विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्