Logo

चार ब्राण्डका खानेतेल अखाद्य पुष्टि : श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन

चार ब्राण्डका खानेतेल अखाद्य पुष्टि : श्वासप्रश्वासमा समस्यादेखि क्यान्सरसम्म हुने, बजारबाट फिर्ता गरी नष्ट गर्न निर्देशन



काठमाडौं । काठमाडौँ महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा व्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।

यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाविन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान व्राण्डको व्याच/लट नं. एस २ को रिफाइन सोयाविन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट, मोरङको उत्पादन हो ।

यस्तै २०८० कार्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच /लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको व्याच/लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।

यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने व्राण्डहरु हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ ।

नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ ववरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको हो ।

नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो । न्यौपानेको भनाइ छ ।
यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरिएको छ ।

यसरी मापदण्डमा तोकिएको भन्दा बढी भ्यालु भएको खण्डमा अर्थात तोकिएको भ्यालु १० एमजीभन्दा बढी भएको अवस्थामा मानव स्वास्थ्यमा यसले प्रतिकुल असर पार्ने देखिएको छ । विभागका प्रमुख न्यौपानेका अनुसार तेलमा एसिड भ्यालु १० एमजीभन्दा बढी भएको अवस्थामा मुख्यतया फोक्सोमा असर परी श्वासप्रश्वासमा असर पर्ने, मुटुमा प्रभाव परी रक्तसंचारमै जटिल अवस्था निम्तीने र क्यान्सरसम्म हुने खतरा देखापर्दछन् ।

प्रतिक्रिया दिनुहोस्