Logo

एक बर्षमै ५० ठूला परियोजनामा डेढ खर्ब लगानी प्रतिवद्धता, यी हुन् लगानीकर्ताको छनौटमा परेका १० ठूला परियोजना

एक बर्षमै ५० ठूला परियोजनामा डेढ खर्ब लगानी प्रतिवद्धता, यी हुन् लगानीकर्ताको छनौटमा परेका १० ठूला परियोजना



काठमाडौं । चालु आर्थिक बर्षको करिव साढे ११ महिनामा नेपालमा ५० ठुला परियोजना उद्योग विभागमार्फत दर्ता भएका छन् । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यी परियोजनामार्फत स्वदेशी लगानीकर्ताहरुले झण्डै साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् ।

laxmi

औद्योगिक व्यवसाय ऐन २०७६ ले ५० करोड माथिका उद्योगहरुलाई ठुला उद्योगको रुपमा उल्लेख गरेको छ । ऐनले ५ करोडदेखि ६ अर्बसम्मको लगानी उद्योग विभागले र ६ अर्बभन्दा माथिको लगानी ‘लगानी बोर्ड’ले स्वीकृत गर्ने व्यवस्था गरिदिएको छ ।

सोही अनुसार चालु आवको असार १६ गतेसम्म उद्योग विभागमा ५० करोडदेखि १३ अर्ब रुपैयाँसम्म लगानी भएका ५० परियोजनाहरुमा लगानी प्रतिवद्धता आएको छ । यसमध्ये पनि ६ अर्ब माथिका परियोजना विभागमा दर्ता भएपनि स्वीकृति प्रदान भने लगानी बोर्डले गर्ने बताईएको छ ।

विभागमा दर्ता भएका ठुला लगानीका धेरैजसो परियोजनाहरु उर्जामा आधारित छन् । चालु आवको साउनदेखि असार १६ गतेसम्म विभागमा दर्ता भएका परियोजनाहरुमध्ये १६ परियोजना उर्जासम्बन्धी छन् । यस्तै सोही अनुसार चालु आवको यो अवधिमा पर्यटन, सेवा, उत्पादनमुलकलगायत क्षेत्रमा पनि उत्तिकै ठुला लगानीका परियोजनाहरु आएको विभागको तथ्यांकले देखाउँछन् ।

यी हुन् धेरै लगानी भएका १० ठुलो परियोजनाहरु :

सिम्बुवा रेमिट हाइड्रो

चालु आवको पछिल्लो साढे ११ महिनामा सबैभन्दा बढी लगानी प्रतिवद्धता जाहेर गर्ने परियोजनामध्ये सिम्बुवा रेमिट हाईड्राे प्रालि पहिलाे स्थानमा छ । यो कम्पनीले ताप्लेजुङको फुङलिङमा आयोजना निर्माण गर्नेगरी विभागसामू चालु आवको पहिलो महिना साउन २२ गते १३ अर्ब ४४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको थियो । कम्पनीले उक्त स्थानमा ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत आयोजनाको काम धमाधम अघि बढाईरहेको छ । उक्त क्षेत्रमा जग्गा अधिग्रहणको काम सम्पन्न भई सुरुङलगायतका संरचनाहरु निर्माण हुँदैछन् ।

लालुपाते जलविद्युत कम्पनी

मनाङको नासो गाउँपालिकामा ४९.९५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्नेगरी लालुपाते जलविद्युत आयोजनाले उद्योग विभागसामु कार्तिक १४ गते लगानीकाे प्रतिवद्धता जाहेर गरेको थियो । कम्पनीले रन अफर रिभर (आरओआर) मा आधारित जलविद्युत आयोजना संचालन गर्नेगरी १० अर्ब ७० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता उद्योग विभागसामू जाहेर गरेको हो ।

बहाव ६.०३ घनमिटर प्रतिसेकेन्ड र समग्रगत हेड ९९६.५ मीटर रहने यो आयोजनाबाट वार्षिक सरदर ३०२.२७ गिगावाट घण्टा विद्यूतीय उर्जा उत्पादन हुने कम्पनीले जानकारी दिएको छ ।

विद्युत उत्पादनका लागि दाना खोलाको पानी फर्काइने भएकाले यसका लागि बनाउने बाँधको कुल लम्बाइ १६.११ मिटर र उचाई ५ मिटर रहने छ । त्यस्तै, आयोजनाको विद्युत भण्डराण गर्ने विद्युत गृहमा ३ वटा १८ हजार किलोवाटका टर्वाइन रहनेछन् । यो आयोजनाको भौतिक संरचना निर्माणको काम अघि बढिसकेको छ ।

मोदी जलविद्युत कम्पनी

चालु आवको जेठ २२ गते मोदी जलविद्युत कम्पनीले उद्योग विभागसामु १० अर्ब ८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेको थियो । कम्पनीले अप्पर मोदी ए जलविद्युत आयोजना अघि बढाउनेगरी विभागसामु लगानीको प्रस्ताव राखेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुन लागेको उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एचआइडीसीएलले लगानी गर्नैगरी काम भईरहेको छ ।

छुजुङखोला जलविद्युत कम्पनी

उद्योग विभागमा असोज २९ गते उद्योग विभागमा दर्ता भएको कम्पनीले ४० मेगावाट क्षमताको जलविद्युत आयोजना अघि बढाउनेगरी लगानी प्रस्ताव गरेको छ । कम्पनीले संखुवासभाको मकालु गाउँपालिका वडा नं एकमा उक्त आयोजना निर्माण गर्न लागेको हो । ९ अर्ब ३० करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको उक्त आयोजनाको डिजाइन डिस्चार्ज १२.६ घनमिटर प्रति सेकेण्ड र ग्रस हेड ३७१.७ मि. रहेको छ । यस जलविद्युत् आयोजनाको वार्षिक ऊर्जा उत्पादन २७०.२३ गिगावाट आवर (वर्षा याम–१६५.६० गिगावाट आवर, सुख्खा– १०४.६३ गिगावाट आवर) रहेको छ । यस आयोजनाको मुख्य संरचनाअन्तर्गत हेडपोन्ड, पेनस्टक पाइप, विद्युत्गृह, टेलरेस तथा प्रसारण लाइन लगायतका संरचनाहरू पर्दछन् ।

नेपाल हाइड्रो भेन्चर प्राली

कम्पनीले तमोर खोला जलविद्युत आयोजना अघि बढाउनेगरी चालु आवको असोज ३० मा उद्योग विभागमा दर्ता गरेको थियो । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना निर्माण गर्नेगरी कम्पनीले ५ अर्ब ९६ करोड रुपैयाँ लगानी प्रस्ताव विभागसामु गरेको छ । आयोजनाबाट वार्षिक प्रतिघण्टा २४२.०३९ गिगावाट उत्पादन हुनेछ । जसमा सुक्खायाममा प्रतिघण्टा ७२.७२६ गिगावाट र वर्षायाममा प्रतिघण्टा १६९.३१३ गिगावाट विद्युत उत्पादन हुनेछ ।

चुनीदेवी वेस्ट प्रोसेसिङ इन्डस्ट्रीज

काठमाडौं उपत्यकालगायत देशभरीकै फोहोर व्यवस्थापन गर्नका लागि भन्दै नेपालमा चुनिदेवी फोहोर प्रशोधन उद्योग दर्ता भएको छ । उद्योग विभागमा जेठ २७ गते झण्डै साढे ५ अर्ब रुपैयाँ लगानीको उक्त उद्योग दर्ता भएको हो ।
खासगरी घरायसी होस या उद्योगबाट उच्सर्जित विभिन्न फोहोरहरु व्यवस्थापन हुन नसक्दा यी फोहोरहरुले दूर्गन्ध फैलाउने मात्रै नभई दिर्घकालिन समस्या पनि निम्त्याउँदै आएका छन् । जसको समाधानस्वरुप उद्योग विभागमा ५ अर्ब ४४ करोड ५० लाख रुपैयाँ लगानी राखेर विभागमा चुनीदेवी वेस्ट प्रोसेसिङ इन्डस्ट्रीज दर्ता भएको हो ।

भिजन टेस्ला पावर

संखुवासभामा इन्दुवा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना गर्नेगरी भिजन टेस्ला पावर कम्पनीले उद्योग विभागसामु लगानीको प्रस्ताव गरेको छ । चालु आवको चैत २० गते कम्पनीले उक्त आयोजना अघि बढाउनका लागि भन्दै ५ अर्ब १४ करोड २५ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेको हो ।
करिव २५ मेगावाट क्षमता भएको आयोजनाले २०७८ को कार्तिकमा सर्भे लाइसेन्स पाईसकेको थियो ।

अपर मोदी जलविद्युत आयोजना

६० मेगावाट क्षमतामा जलविद्युत आयोजना निर्माण गर्न लागिएको अपर मोदी जलविद्युत आयोजना विभागमा दर्ता भएको छ । कास्कीमा निर्माण हुन लागेको उक्त आयोजनाले चालु आवको जेठ ३१ मा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेको छ । आयोजनाको काम २ चरणमा भईरहेको छ । आगामी आवमा यसको निर्माण सम्पन्न हुने बताईएको छ ।

द म्यासिफ होटल

गुण समुहको लगानीमा ललितपुरमा पाँचतारे द म्यासिफ होटलमा लगानी प्रस्ताव आएको छ । गुण समुहले उद्योग विभागसामु ४ अर्ब ८१ करोड २० लाख रुपैयाँ लागनीमा उक्त होटल निर्माण गर्नेगरी लगानीको प्रस्ताव गरेको हो । चालु आवको असोज १९ मा लगानी प्रस्ताव गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगिसकेको छ ।

राम जानकी जलविद्युत कम्पनी

गएको बैशाखमा आयोजना गरिएको लगानी सम्मेलनमा सोकेशमा राखिएको अपर अप्सुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न राम जानकी जलविद्युत कम्पनीले लगानी प्रस्ताव गरेको छ । कम्पनीले उद्योग विभागसामु बैशाख १७ गते अर्थात लगानी सम्मेलनमै उक्त आयोजनामा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको हो ।

यीलगायत चालु आवमा नेपालमा वेद होटल, लिटमस उद्योग, होटल एट्रिअम पूर्वाञ्चल क्यान्सर अस्पताल, इच्छाकामना देवी केवलकार परियोजनालगायतमा पनि उल्लेख्य लगानी प्रस्ताव आएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL