Logo

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु

पेट्रोलियम ट्यांकर चालक र सरकारबीच सहमति, तेल ढुवानी सुरु



काठमाडौं । शनिबारदेखि हड्तालमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच ढुवानी सूचारु गर्नेगरी सहमति जुटेको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सोमबार पेट्रोलियम ढुवानी व्यवसायी, मजदुर र सरकारपक्षबीच भएको करिव साढे ४ घण्टा लामो बैठकपछि सहमति जुटेको हो ।

पेट्रोलियम ट्यांकर चालकहरुले गत हप्ताको मंगलबार नै एक विज्ञप्ति जारी गर्दै सरकारसमक्ष विभिन्न मागहरु राखेका थिए । उनिहरुले विज्ञप्तिमार्फत तोकिएअनुसारको तलव दिनुपर्ने, श्रम ऐनबमोजिम नियुक्तपत्र दिनुपर्ने, आवश्यक तापक्रमको सहि व्यवस्था गरिनुपर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने, प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिम दिनुपर्नेलगायतका माग राखिएका छन् ।

यी मागहरु पछिल्लो लामो समयदेखि राख्दै आएपनि कुनै निकायले मागहरुमा सुनुवाई नगरिदिएपछि हड्ताल नै गर्नुपरेको मजदुरहरु बताउँछन् । उनिहरुले राखेको मागमा जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्ण रुपमा काम छोडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाउने कुरा उल्लेख गरिएको छ ।

सोही अनुसार शनिबारदेखि पेट्रोलियम ढुवानी ठप्प भएपनि काठमाडौंभरी पेट्रोलियम पदार्थको हाहाकर मच्चिएको थियो । त्यसपश्चात सिंहदरबारमा बसेको बैठकले यसमा निर्क्यौल निकालेको हो । उनिहरुले गरेको मागमा भने अध्ययन गर्नेगरी एउटा समिति गठन गर्ने निर्णय भएको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । उक्त समितिले १५ दिनमा अध्ययन गरी प्रतिवेदन बुझाउने बताईएको छ । सहमति जुटेसँगै अब तेल ढुवानीसमेत सूचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्