Logo

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर करको दर परिवर्तन गर्न निर्देशन

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर करको दर परिवर्तन गर्न निर्देशन



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्तन गर्दै नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीले त्यसलाई हस्तक्षेप गरेका छन् । विशेषगरी अर्थमन्त्री पुनले स्पञ्ज आइरनबाट रड बनाउने उद्योगले ल्याउने कच्चा पदार्थको करको दर बढाएर नीतिगत भ्रष्टाचार गरी अर्कोपक्षबाट उच्च आर्थिक लाभ लिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएका हुन् ।

अर्थमन्त्रीले उच्च भ्यालुएड हुने स्पञ्ज आईरन (एमएस ब्लेट बनाउने कच्चा पदार्थ) को भन्सारदर बढाएसँगै सो सम्बद्ध उद्योगी व्यवसायीहरु विरोधमा उत्रिएका छन् । सो विषयमा नेपाल फलामे छड उत्पादक संघले पत्रकार सम्मेलन नै गरेर स्पञ्ज आईरनको भन्सारदर बढाएर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उद्योगी व्यवसायीले अर्थमन्त्रीको नीतिगत भ्रष्टाचारका कारण मेल्टिङ उद्योगमा लगानी भएको ३६ अर्ब रुपैयाँ धराशायी पर्ने भन्दै लगातार विरोधमा उत्रिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज (सोमबार) विहान ८ बजे बालुवाटारमा फलामे छड उद्योगीहरुलाई भेटका लागि बोलाएका थिए

उक्त भेटमा प्रधानमन्त्री दाहालले अर्थमन्त्रीले स्पञ्ज आईरनमा करका दर चलाउँदा उद्योगी व्यवसायी समस्यामा परेको र आफुले उक्त समस्या समाधान गर्न अर्थमन्त्रीलाई निर्देशन दिइसकेको जानकारी गराएका थिए । ‘स्पञ्ज आईरनको करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिइसकेको छु,’ ज्ञापन पत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका उद्योगी व्यवसायीलाई प्रधानमन्त्री दाहालले भने, ‘बजेट छलफलका लागि अब दुई दिन समय बाँकी छ सो समयमा उक्त समस्या समाधान हुनेछ ।’

बजेट निर्माणका क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लागेपछि प्रधानमन्त्री दाहालले अर्थमन्त्रीलाई बालुवाटारमै बोलाएर तत्काल समाधान गर्न निर्देशन दिएका हुन । सोही अनुरुप सोमबार बिहान ७ बजे नै अर्थमन्त्री पुन बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्री दाहालले तपाई (अर्थमन्त्री वर्षमान पुन)ले अनावश्यक रुपमा करका दर चलिदिँदा बजेट निर्माणका क्रममा नीतिगत भ्रष्टाचार भएको भन्दै जनस्तरबाटै विरोध भएको भन्दै त्यसलाई बजेट छलफलका क्रममा मिलाएर ल्याएर समस्या समाधान गर्न निर्देशन दिएको समेत बालुवाटार स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री दाहालले गुनासो लिएर गएका फलामे छड उद्योगी व्यवसायीलाई भेटेका थिए । तर उक्त भेटमा उद्योगीहरुले आफुमाथि करका दर हेरफेर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउने थाहा पाएपछि अर्थमन्त्री पुन उद्योगी व्यवसायी बालुवाटार प्रवेश गरेपछि उक्त छलफलमै नबसी बाहिरिएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले स्पञ्ज आईरनमा भएको करको दर हेरफेरको विषयमा सुक्ष्म तरिकाले अध्ययन गरेको र सोही अनुरुप आफ्ना समस्या समाधान हुने आश्वासन समेत पाएको उक्त भेटमा पुगेका एक उद्योगीले जानकारी दिए । ‘हामीसँगको भेटमा प्रधानमन्त्री दाहालले करको दर हेरफेर गरेको विषयबारे आफू जानकार रहेको र अर्थमन्त्री पुनलाई व्यवसायीमाथि अन्याय हुनेगरी ल्याइएको करका दर फिर्ता लिन निर्देशन दिइसकेको छु भन्नु भएको छ,’ उक्त भेटमा सहभागी एक उद्योगीले भने, ‘प्रधानमन्त्रीले हामीसँगको भेटमा प्रस्तावित करका व्यवस्थामाथि संशोधन प्रस्ताव गर्ने भोलि (मंगलबार) अन्तिम दिन भएको भन्दै के गर्न सकिन्छ त्यो प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।’

प्रधानमन्त्रीसँगको उक्त भेटमा नेपाल उद्योग व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, महासंघकै उद्योग समितिका सभापति राजेश अग्रवाल, मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी, फलामे छठ उत्पादक संघका उपाध्यक्ष हरि न्यौपाने, सर्वोत्तम स्टिलका संचालक विष्णु न्यौपानेलगायत उद्योगी व्यवसायीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्