Logo

होटलमा वैदेशिक लगानी भित्रने क्रम बढ्यो, २ महिनामा ३४ ओटा होटल दर्ता

होटलमा वैदेशिक लगानी भित्रने क्रम बढ्यो, २ महिनामा ३४ ओटा होटल दर्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा उत्साहजनक पर्यटक नभित्रिएपनि पर्यटन क्षेत्रमा भित्रने लगानी भने दिनप्रतिदिन बढ्दै गएको छ । होटल क्षेत्रमा विशेषगरी विदेशी लगानीकर्ताहरु आकर्षित हुन थालेका छन् ।

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको २ महिनामा पर्यटन तथा होटल क्षेत्रमा उल्लेख्य लगानीको प्रस्ताव आएको छ । चालु आवको २ महिनामा विभागबाट ३४ ओटा होटलले दर्ताको स्वीकृति लिएका थिए । ती मध्ये २९ ओटा विदेशी लगानीका छन् । बाँकी ५ ओटा मात्र स्वदेशी लगानीका होटल रहेका छन् ।

सो क्षेत्रमा विशेषगरी चिनीयाँ लगानीका होटलहरु दर्ता बढेको विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘होटल रेष्टुराँ सानो लगानीमा पनि सञ्चालन गर्न सकिने तथा भौतिक पूर्वाधार त्यती आवश्यक नहुने भएकोले यसमा लगानी बढेको हो’ उनले भने, ‘यस्ता होटल खोल्नका लागि विभिन्न निकायमा धाउन नपर्ने भएकाले पनि स्वीकृति लिने क्रम बढेको हो ।’ साथै कतिपय उत्पादनमुलक उद्योगहरुमा विदेशी लगानी समेत प्रतिबन्ध भएकोले सहज उद्योगको रुपमा होटल रेष्टुराँ रोजेको विभागको तर्क छ ।

त्यस्तै अन्य मुलुकमा नेपालको प्राकिृतिक सम्पदा तथा सुन्दरताको सकारात्मक सूचना गएकोले पनि होटल खोल्ने बढेको होटल एशोशिएशन नेपाल (हान)का महासचिव विनायक शाहले बताए । विदाका समय होटलमा विताउने नेपालीको संख्या बढ्दै जाँदा पनि यसतर्फ लगानीकर्ताको आकर्षण बढेको उनको भनाइ छ ।

प्र्यटन व्यवसायमा विदेशी लगानी भित्रिए अनुरुप नेपालले प्रचारप्रसार गर्न नसकेको उनको गुनासो छ । ‘नेपालको प्राकृतिक सम्पदा देखेर विदेशीहरु लगानीका लागि ओहिरिएका छन्,’ उनले भने ‘तर प्रचारप्रसार नहुँदा नेपाल भित्रने पर्यटक भने घटेको छ ।’ सरकारले पर्यटन प्रवद्र्धनको कदम नचाले यस क्षेत्रमा भएको लगानी फस्ने डर हुने शाहले बताए ।

नेपालमा अन्य उद्योगको तुलनामा होटल स्थापनाको प्रक्रिया सजिलो छ । साना तथा मझौला होटल स्थापना गर्न इआइए तथा आइईइ गर्नु पर्दैन । त्यस्तै होटल तथा रेष्टुराँ खोल्का लागि पनि सहज रुपमा जग्गा लिजमा लिन सकिन्छ । २५ करोड भन्दा माथिको होटलले मात्र आइइइ तथा इआइए गर्नु पर्ने भएकोले हाल सोभन्दा कम लगानीका होटल खोल्नका लागि स्वीकृति लिएका छन् ।

विभागले दिएको तथ्याङ्क अनुसार यी होटलमा ८७ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी रहेको छ । न्यौपानेका उनका अनुसार गत आर्थिक बर्षमा १ सय ९ उद्योग दर्ता भएका थिए । सो अवधिमा होटलमा जम्मा ११ अर्व ७३ करोड २२ लाख बराबरको लगानी भित्रिएको थियो । चालु आवमा दर्ता भएका यी होटलहरुबाट ९ सय ३१ जनाले रोजगारी पाउनेछन् प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्