काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ५ महिनामै झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको प्लाईउड निर्यात गरेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले यस अवधिमा विभिन्न शिर्षकमा २ अर्ब ८९ करोड २ लाख रुपैयाँ बराबरको प्लाईउड भारततर्फ निर्यात गरेको हो ।
यो गत आर्थिक बर्षको यहि अवधिको तुलनामा दोब्बरले बढी हो । गत आर्थिक बर्ष २०७९÷८० को पहिलो ५ महिनामा नेपालले १ अर्ब ३६ करोड रुपैयाँ बराबरको मात्रै प्लाईउड निर्यात गरेको थियो । यस्तै गत आर्थिक बर्षभरीको कुरा गर्दा भने नेपालले विभिन्न देशमा ४ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ बराबरको प्लाईउड निर्यात भएको छ । यो अघिल्लो आर्थिक बर्ष २०७८÷७९ को तुलनामा भने करिव ४ अर्ब ४० करोड रुपैयाँले बढी हो । उक्त बर्ष नेपालले जम्मा ३५ करोड ४७ लाख रुपैयाँ बराबरको मात्रै प्लाईउड निर्यात गरेको थियो ।
अर्थात गत आर्थिक बर्षमात्रै नेपालबाट अत्याधिक मात्रामा प्लाईउड निर्यात भएको पाईएको छ । त्यसयता चालु आर्थिक बर्षमा पनि नेपालबाट प्लाईउडको निर्यात लगातार बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
खासगरी नेपालमा उत्पादित उत्तिसका बिरुवाहरुबाट निर्मित प्लाईउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरु बताउँछन् । जसका कारण पूर्वी र पश्चिीमी दुबै तर्फका नाकाहरुबाट भारततर्फ गत आर्थिक बर्षमा मात्रै ६० लाख क्युविकमिटर बढी प्लाईउड निर्यात भएको पाईएको हो ।यस्तै चालु आर्थिक बर्षको पहिलो ४ महिनामा पनि यसको निर्यात प्रशस्तै भएको पाईएको छ । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाईउड पछिल्लो ५ महिनामा मात्रै २७ लाख क्युविक मिटर प्लाईउड निर्यात भएको पाईएको छ ।
खासगरी भारतीय बजारमा बढेको प्लाईउडको मूल्यका कारण नेपालमा पाईने सस्तो मूल्यको प्लाईउडको निर्यात बढेको पाईएको छ । भारतमा प्लाईउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाईउडलाई पनि निर्यातमा नगद अनुदान पाईने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष होम प्रसाद घिमिरे बताउँछन् । यसरी यसको निर्यात बढेपछि नेपालबाट निर्यात हुने प्रमुख वस्तुको रुपमा यसलाई राखिनुपर्ने उद्योगी व्यवसायीहरु बताउँछन् । नेपालबाट जाने सस्तो मूल्यको प्लाईउडको खपत भारतका लखनउ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ ।
प्लाईउड निर्यातमा भारतले खोज्यो निहुँ
यता भारतले भने नेपालबाट बढिरहेको प्लाईउड निर्यातमा निहुँ खोजेको जस्तो गरेको छ । नेपालबाट यसको निर्यात बढेको जानकारी पाएसँगै भारतले आगामी फेब्रुअरी २८ देखि लागू हुनेगरी प्लाईउड आयातमा भारतीय गुणस्तर प्रमाण (आइएसआई) अनिवार्य गरेको छ । हालसम्म विना आइएसआई प्लाईउड भारततर्फ निर्यात गरिरहेका नेपाली उद्योगीलाई यसले अवरोध गर्ने संघका अध्यक्ष घिमिरेले बताए । उनका अनुसार भारतले अब आइएसआई खोज्ने भएपछि नेपालबाट जाने प्लाईउडमा केहि समस्या सिर्जना हुने भएको छ ।
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाईउडमा आइएसआई प्रमाण अनिवार्य गरेको हो ।
यसपश्चात नेपाली प्लाईउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गरेको छ । यस्तै यसैको सहजीकरणका लागि भन्दै भारतीय राजदूतावाससँग पनि सहजीकरणको माग गरिरहेको अध्यक्ष घिमिरेले बिजखबरलाई बताए । ‘हुन त भारतीय यो नीति सबै देशका लागि लागू हुने भएको हो, तर पछिल्लो समय नेपालबाट यसको निर्यात बढिरहेकाले हामीलाई केहि समय अप्ठ्यारो अवस्था आउन सक्छ,’ उनले भने,‘यसमा सहजीकरण या यो समय केहि लम्ब्याउन हामीले सम्बन्धीत निकायसँग आग्रह गरिरहेका छौं ।’
सबैजसो उद्योगले आइएसआइ लिन करिव ५ देखि ६ महिनाको समय लाग्ने भएपनि भारतले तोकेको समय केहि अपुग हुने उनी बताउँछन् ।