Logo

सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकोले लगानी बढाउन संयुक्त अरब इमिरेट्स–युएईका लगानीकर्ताहरुलाई आग्रह गरेका छन ।

नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्वरद्वारा संयुक्तरुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउनको लागि यूएईलाई आग्रह गरेका छन ।

उक्त कार्यक्रमकाअवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताएका जानकारी दिए । उनले नेपाल र युएई बीच सुमधुर सम्बन्ध रहेकोले व्यवसायिक सम्बन्ध पनि बलियो बनाउंदै लैजान तयार रहेको विश्वास दिलाएका छन ।

सोही फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयां लगानीका अवसर छोप्न आग्रह गरेका छन । अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयां अवसरहरू सृजना भएको बताए ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफनै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरेका छन ।

अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयां अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि जानकारी गराए । युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत उनले आग्रह गरेका छन ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको उनले जानकारी दिएका छन ।

व्यापार र लगानीमा बैंकिङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले नेपालको बैंकिङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन । कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउंदै उनले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने सुुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL