Logo

अमेरिकी आईआईपीका फिलिप्स र महासंघ वरिष्ठ उपाध्यक्षबीच भेट, नेपालमा लगानीको पहल गर्न आग्रह

अमेरिकी आईआईपीका फिलिप्स र महासंघ वरिष्ठ उपाध्यक्षबीच भेट, नेपालमा लगानीको पहल गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेपालमा अमेरिकी लगानी भित्रयाउने पहल गर्न अमेरिकन सरकारको  व्यूरो अफ इन्टरनेशनल इन्फरमेशन प्रोग्राम्स (आईपीपी)सँग आग्रह गरेकी छन् । आईपीपीका संयोजक म्याकोन फिलिप्ससँग मंगलवार भएको भेटवार्ताको अवसरमा उनले यस्तो आग्रह गरेकी हुन् ।

वरिष्ठ उपाध्यक्ष राणाले नेपालको व्यवसायिक कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार निर्माण, खानी तथा खानीजन्य क्षेत्रमा लगानीको धेरै सम्भावना रहेको जानकारी गराईन । उनले नेपालमा लगानी विस्तार गर्न अमेरिकन सहयोगको अपेक्षा पनि गरिन् । वरिष्ठ उपाध्यक्ष राणाले निजी क्षेत्रको प्रनिनिधिमुलक संस्था महासंघले मुलुकभित्र उद्योग व्यवसायको विकास मार्फत रोजगारी सृजना तथा अर्थतन्त्रको विकासमा काम गर्दै आएको, नीति कानून निर्माणमा निजी क्षेत्रको सुझाव सहित पैरवी गर्दै आएको बताइन् ।

संयोजक म्याकोन फिलिप्सले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले अमेरिका र नेपाल बीचको सहयोग सम्भाव्यता बारे जानकारी समेत लिए । सो अवसरमा नेपाल अमेरिका बीचको आर्थिक व्यवसायिक सम्बन्ध, अमेरिकन सरकारले उपलव्ध गराएको गार्मेन्टको कोटा सुविधा, नेपालको विद्यमान उद्योग व्यवसायको अवस्था, उद्योग व्यवसाय लगायत समग्र अर्थतन्त्रका चुनौतीका विषयमा छलफल भएको थियो । भेटवार्तामा काठमाडौंस्थित अमेरिकन राजदुतावासका वरिष्ठ अधिकारीहरु, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्