काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानी ग्रुपवीच दुई देशवीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ । नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् ।
नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगति प्रतिको अटल समर्पणलाई दर्शाउँछ ।
यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्ध निर्देशक चौधरीले भने ।
नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभावपार्ने विश्वास दुवै समुहले लिएका छन् ।
प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफलबनाउन नेतृत्वदिई भूमिका खेलेकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे । हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा परेको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरे । अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवैपक्षको छ ।
चौधरी ग्रुप दशकौँदेखि औद्योगिक र व्यापारिक विरासतबोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना हो । एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्सलगायतका क्षेत्रहरुमा बलियो उपस्थितिको साथ चौधरी ग्रुप नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहदै आएको छ ।