Logo

व्यवसायीसँग ओलीले मागे सुझाव, भने–सरकारले तपाईहरूको समस्या सुनेन, अब एमालेले संसद र सरकारसँग व्यवसायीका एजेन्डा उठाउनेछ

व्यवसायीसँग ओलीले मागे सुझाव, भने–सरकारले तपाईहरूको समस्या सुनेन, अब एमालेले संसद र सरकारसँग व्यवसायीका एजेन्डा उठाउनेछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योगी व्यवसायीका समस्या सुन्न छाडेको भन्दै त्यस्ता समस्या अब एमालेले बाकेर अघि बढ्ने बताए ।

‘अहिले सरकारले उद्योगी व्यवसायीको कुनै पनि माग सुनुवाइ गरेको देखिएन ’ नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागद्वारा आयोजित वर्तमान आर्थिक अवस्थासमस्या समाधान सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘अब एमालेले संसदमा उद्योगी व्यवसायीको समस्या उठाउने छ भने सरकारसँग पनि व्यवसायीकै समस्या लिएर टेवुलटक गर्नेछ ।’

साथै अहिले सरकार उद्योगी व्यवसायीप्रति मिटरब्याजीभन्दा निष्ठुरी भएको भन्दै त्यसतर्फ अबका दिनमा उक्त समस्या समाधानका लागि एमालेले लिड गर्ने बताए । ‘अहिले सरकारले विभिन्न समस्या देखाएर व्यवसायीको समस्या सुनुवाइ गरिरहेको छैन,’ उनले भने, ‘अहिलेको अवस्थामा उद्योग व्यवसाय बचाउनु जरूरी छ त्यसको लिड एमालेले गर्नेछ ।’ साथै अहिले देशमा कुशासन चलेको भन्दै यसतर्फ सचेत हुनुपर्ने र अर्थतन्त्रलाई कुबाटोमा जानबाट रोक्नु पर्ने बताए ।

यसैगरी अहिलेको अवस्थामा बैक वित्तीय संस्थाले पनि उद्योगी व्यवसायीलाई समस्यामा पार्न नहुने बताए । ‘बैंक साहुजी मात्रै होईन उद्यमी व्यवसायीको सहयोगी पनि बन्नुपर्छ,’ उनले भने, ‘उद्योग व्यवसाय चलेमात्रै बैंक चल्न सक्छ त्यसतर्फ सोच्नु जरूरी छ ।’

यसैगरी कार्यक्रममा उक्त विभागका सभापति मोतीलाल दुगडले अहिलेको सरकार उद्योगी व्यवसायीका समस्याप्रति रमिते बनेको बताए । ‘अहिले बालुवाटार र सरकार खुशी उद्योगी व्यवसायी दुखी अवस्थामा छन,’ उनले भने, ‘यो सरकारले हाम्रो समस्या सुनेन तसर्थ हाम्रो यस विभागले सम्पूर्ण उद्योगी व्यवसायीको समस्या समाधानका लागि नेतृत्व गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्