Logo

महासंघ अध्यक्ष ढकालले भने-‘प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा परे’

महासंघ अध्यक्ष ढकालले भने-‘प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्दा लगानीकर्ता समस्यामा परे’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादित सबै बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेट्न महासङ्घको पदाधिकारीसहित बिहिबार ऊर्जा मन्त्रालयमा पुगेका ढकालले प्राधिकरणले आफ्नो अनुकूल बिजुली किन्ने गरेकाले उर्जा लगानीकर्ताले दुःख पाएकाे बताएका हुन्।

उनले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेकोसमेत बताएका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रलाई विद्युत उत्पादनमा लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गरेका छन् । उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगिरहेका तथा पटकपटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गरे ।

अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको बताएका छन् । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्ने उनले बताए ।

उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताए । सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्