Logo

भारतीय प्रतिबन्धलाई देखाएर चामल व्यापारीको कालोबजारी, १ हप्तामै प्रतिबोरा ३ सय रुपैयाँले बढाए मूल्य

भारतीय प्रतिबन्धलाई देखाएर चामल व्यापारीको कालोबजारी, १ हप्तामै प्रतिबोरा ३ सय रुपैयाँले बढाए मूल्य



काठमाडौं । केहिदिनअघि मात्रै भारतले बासमती बाहेकको सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गर्यो । यसको असर विश्वबजारमा देखिने विज्ञहरु बताउँदै आएका छन् । विश्वभर चामल निर्यात गर्ने प्रमुख देशमध्ये भारतले नै आफ्नो देशमा उत्पादन कम हुँदा मुद्रास्फितिलाई नियन्त्रण गर्न भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि यसको ठूलो असर पर्ने विज्ञहरु बताउँदै आएका छन् ।

नेपालले पनि बार्षिक ११ अर्ब बढीको सेतो चामल भारतबाट आयात गर्दै आएको छ । सोही कुरालाई देखाउँदै भारतले प्रतिबन्ध लगाउन नपाउँदै नेपाली व्यापारीहरुले चामलको मूल्य बढाईसकेका छन् । करिव १ हप्ताको अवधिमै ब्यापारीहरुले चामलको मूल्य प्रतिकिलो १२ रुपैयाँसम्मले बढाएका उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव प्रसाद तिमिल्सिना बताउँछन् । ‘नेपालमा तत्काल चालमको मूल्य बढाउन आवश्यक नभएपनि भारतको निर्यात प्रतिवन्धलाई देखाउँदै बजारमा प्रतिबोरा औसतमा ३ देखि ४ सय रुपैयाँसम्मले बढाईएको छ,’ उनले भने, ‘अहिले भारतको प्रतिबन्धलाई देखाएर नेपाली व्यापारीहरुले चामल गोदाममै लुकाउँदै कालाबजारी गरिरहेका छन् ।’

यता चामल उद्योगीहरु पनि आगामी करिव ३ महिनासम्मका लागि स्टक रहेको र चामलको मूल्य बढाउनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् । सोही अनुसार वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलको मूल्य बढाएको गुनासो आएको खण्डमा अनुगमन गरेर कारबाही गरिरहेको बताएको छ ।

नेपाली उपभोक्ताहरुले भारतले चामल निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेकै दिनदेखि नै चामलको मूल्य बढेको अनुभूति गर्दै आईरहेका छन् । सोही अनुसार हाल सोना मसिनो चाम, जिरा मसिनो चामललगायतको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्मले बढेको उपभोक्ताहरु बताउँछन् ।

बजार नियमन गर्ने नियामक निकायको निरिहता र हेलचक्र्याईँले उपभोक्ताले उच्च मूल्यमा चामल खरिद गर्नुपरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘हाल अनावश्यक रुपमा चामलको मूल्य बढिरहँदा पनि वाणिज्य विभागले अनुगमन गरी कारबाही गर्न सकिरहेको छैन,’ उनले भने, ‘जसका कारण व्यापारीहरुले यसको फाईदा लिँदै चामलमा कालोबजारी सुरु भईसकेको छ ।’

यता वाणिज्य विभाग भने चामलको मूल्य कसैले बढाएको खण्डमा कारबाही गर्नेगरी कार्य अघि बढाइसकेको बताउँछ । विभागका प्रवक्ता होमनाथ भट्टराईले उद्योगी व्यवासायीले चामलको मूल्य बढाउनुपर्ने कारण नै नभएपनि बजारमा चामलको मूल्य बढाएको सुचना आएको जानकारी दिए । साथै उक्त सुचनासँगै अहिलेको बजार अनुगमन नै चामल केन्द्रित गरिएको छ । ‘खास आगामी ३ महिनासम्म चामलको मूल्य बढाउनुपर्ने कारण नै नभएको उद्योगीहरुले नै बताउँदै आउनुभएको छ,’ उनले भने, ‘तर पनि चामलको मूल्य बढेको गुनासो आएपछि हामीले अनुगमन नै चामल केन्द्रित गरेका छौं ।’

उनले काठमाडौं, भक्तपुर र ललितपुरका लागि भन्दै छुट्टाछुट्टै तीओटा टोली खटाएर पसलस्तरमै अनुगमन गरिरहेको बताए । विभागले चामलको १ महिना अघिको मूल्य र हालको मूल्य तुलना गर्दै बढेको अवस्थामा कारबाही गर्नेगरी कार्य अघि बढाईरहेको छ । तर, चामलको मूल्य बढेको भेटिए सर्वसाधारणले पनि खबर गरेर विभागलाई सहयोग गरिदिनुपर्ने प्रवक्ता भट्टराई बताउँछन् ।

यता चामल, तेल, दाल उत्पादक संघका पूर्वअध्यक्ष सुवोध कुमार गुप्ता भने चामलको मूल्य नबढ्ने बताउँछन् । उनका अनुसार नेपालमा चामल आयात नभएपनि भारतबाट तोकिएको कोटामा धान आयात भएपछि चामलको मूल्यमा कुनै असर नपर्ने उनको भनाई छ ।

हाल नेपालमा चामल खपत बढेपछि करिव ६५ लाख मेट्रिकटन धान आवश्यक पर्छ । तर, नेपालको आन्तरिक उत्पादन भने करिव ५५ लाख मेट्रिकटन मात्रै छ । सोही अनुसार बाँकी भारतबाट १० लाख मेट्रिकटन धान आयात गर्नुपर्ने बाध्यता छ । सोहि अनुसार सरकारले भारत सरकारसँग छलफल गरेर १० लाख मेट्रिक टन धान आयात गर्न सहजीकरण गरेको खण्डमा चामलको मूल्यमा असर नपर्ने उनले बताए ।

भन्सार विभागको तथ्यांक हेर्दा मात्रै गत आर्थिक बर्षभरी नेपालले भारतबाट मात्रै ३६ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । जसमध्ये भारतले प्रतिवन्ध लगाएको हार्मोनिक कोर्ड १००६३०९० अन्तर्गतको चामल मात्रै १० अर्ब ७९ करोड रुपैयाँ बराबरको आयत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL