Logo

क्रेस्टको माइक्रोलाइफ इन्स्योरेन्सको लघु जीवन बीमा सेवाको औपचारिक थालनी

क्रेस्टको माइक्रोलाइफ इन्स्योरेन्सको लघु जीवन बीमा सेवाको औपचारिक थालनी



विरेन्द्रनगर । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पर्याउन कम्पनीलाई सुझाए । प्राधिकरणले नियमन र सहजीकरण दुवैलाई समानान्तर रुपमा लैजाने पनि उनले बताए ।

समारोहका सभापति तथा कम्पनी अध्यक्ष ऋषिराज मोरले भच्र्युअल सम्बोधनमार्फत समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै जीवन बीमालेखको वास्तविक आवश्यकता भएका न्यून आयका गरीब, तल्लो तह, पिछडिएका वर्ग र समुदाय तथा परम्परागत बीमा कम्पनीमा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुबिधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए ।

परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका उक्त वर्गलाई न्यून बीमा शुल्कमा स–सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमालेख पुर्याउने पनि बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्दै कम्पनीबारे जानकारी दिए । कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा योजना कम बीमा शुल्कमा सजिलै प्राप्त गर्न सकिने सुविधा रहेको जानकारी दिए । कम्पनीले प्रस्तुत गर्ने कम बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्ग आर्थिक रुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ ।

विद्यमान र आगामी दिनमा आउन सक्ने चुनौतीप्रति लक्षीत गर्दै उनले भने, ‘प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।’ उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL