Logo

चन्द्रागिरि, मौलाकालि र लुम्बिनी केबलकारको टिकटमा सशस्त्र प्रहरी र आश्रित परिवारलाई विशेष छुट

चन्द्रागिरि, मौलाकालि र लुम्बिनी केबलकारको टिकटमा सशस्त्र प्रहरी र आश्रित परिवारलाई विशेष छुट



काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित केबलकार कम्पनीहरू चन्द्रागिरि हिल्स, मौलाकालि केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुलाई केबलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन् ।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केबलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार, बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले केबलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सशस्त्र प्रहरी बलको कल्याणकारी योजना अन्तर्गत भएको यो सम्झौता बमोजिम यो छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र ,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूले पेन्सन पट्टा तथा आश्रित परिवारहरूले नाता प्रमाणित कागजात देखाउनु पर्नेछ ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरि हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा आइएमई अन्तर्गतको बेष्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा सशस्त्र बलका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL