काठमाडौं । नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को पदाधिकारी प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । डा. महत शुुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त भएका थिए । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटको अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै विभिन्न सुझावहरु दिएका छन् ।
उनले हाल बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिएका छन् । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो ।
सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिएका छन् । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो ।
अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
भेटमा अध्यक्ष गोल्छाले राज्य संयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने बताएका छन् ।
अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे ।
निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिए । राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव उनले दिए ।
नवनियुक्त अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए ।
‘तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु,’ नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भने ।