Logo

सवा १ अर्ब लगानीमा स्न्याक्स उद्योग खुल्दै, आयात प्रतिस्थापनमा सहयोग

सवा १ अर्ब लगानीमा स्न्याक्स उद्योग खुल्दै, आयात प्रतिस्थापनमा सहयोग



काठमाडौं । बदाम, पापड, आलु भुजियालगायतका स्न्याक्सहरु अब नेपालमै बन्ने भएका छन् । उद्योग विभागमा हालै यस्ता तयारी खानेकुराहरु उत्पादन गर्नका लागि भन्दै एक उद्योगले परियोजना स्वीकृत गराएको छ ।

पर्सा जिल्लाको विरगंजमा उद्योग स्थापना गर्नेगरी आनन्दम स्न्याक्स एण्ड वेभरेज इन्टरनेशनल प्रालिले उद्योग विभागबाट स्वीकृति पाएको हो । उद्योगले १ अर्ब २८ करोड रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गर्ने प्रतिवद्धता विभागसामु जाहेर गरेको छ । कम्पनीले उक्त उद्योग स्थापनाका लागि भन्दै १ अर्ब ४ करोड रुपयाँ स्थिर पुँजी र २४ करोड रुपैयाँ चालू पुँजी रहने बताएको छ ।

कम्पनीका लागि उक्त उद्योगबाट बार्षिक ७ सय मेट्रिक टन आलु भुजिया, १ हजार मेट्रिक टन भुटेको बदाम, १ हजार ६ सय मेट्रिक टन मुंगको दाल उत्पादन हुनेछ । यस्तै कम्पनीले ८ सय मेट्रिक टन पंजावी तड्का, ८ सय मेट्रिक टन हरियो केराउ, ७ सय मेट्रिक टन बदाम क्र्याकर, १ हजार ५ सय मेट्रिक टन चटपट मसाला, र १ हजार ५ सय ५० मेट्रिक टन पापड बार्षिक उत्पादन गर्नेछ ।

गत पुसमै उद्योग विभागमा दर्ता भएको उक्त परियोजनाले १२ सय केभिए अर्थात १.२ मेगावाट विजुलीको खपत गर्नेछ । एकातर्फ नेपालमा पछिल्लो समय रेडिमेड स्न्याक्सको बजार बढिरहेको अवस्थमा उद्योगले यस्ता स्न्याक्स नेपालमै उत्पादन गरी आयात निरुत्साहनमा सहयोग पुग्ने बताईएको छ ।

नेपाली बजारमा हाल बालबच्चादेखि वृद्धसम्मै तयारी खाजाको प्रयोग गर्ने हुनाले नेपालमा चौधरी ग्रुप, रिजाल स्न्याक्स एण्ड वेभरेज, सुजल, सिद्धीविनायक, सेन्चुरी, हाईलाईफलगायतका कम्पनीहरुले यस्तो उत्पादन गरेर बजारमा विक्री गर्दै आएका छन् ।

एकातिर बजारको माग पूर्ति हुने र अर्कातिर नेपालमा उत्पादित विजुलीको खपत हुने भएकाले यस्ता उत्पादनमुलक उद्योगहरु नेपालमा आवश्यक रहेको उद्योगविद्हरुले बताउँदै आएका छन् । त्यसमाथि हालै विभागमा दर्ता भएको उद्योगले प्रत्यक्ष अप्रत्यक्ष गरी २ सय ३४ जनालाई रोजगारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL