Logo

भारतीय ट्रान्सपोर्ट कम्पनीले घटाए बुलेट, ग्याँस लोडिङमा समस्या

भारतीय ट्रान्सपोर्ट कम्पनीले घटाए बुलेट, ग्याँस लोडिङमा समस्या


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । ग्याँस आयातका लागि उद्योगीहरुले नै बुलेट राख्ने भएपछि भारतीय कम्पनीले बुलेट संख्या कटौती गरेका छन् । नेपाल आयाल निगमले नेपाली उद्योगीहरुलाई आफैले बुलेट खरिद गरी ग्याँस आयात गर्न स्वीकृति दिएसँगै नेपालमा ढुवानी गर्दै आएका भारतीय ट्रान्सपोर्ट कम्पनीले बुलेट घटाएका हुन् ।

हाल साविकको तुलनामा भारतीय ट्रान्सपोर्ट कम्पनीले २५ प्रतिशतभन्दा बढी बुलेट घटाएको नेपाल एलपी ग्याँस उद्योग संघका उपाध्यक्ष कुश मल्लीले जानकारी दिए । ‘नेपाली उद्योगीले नै बुलेट संचालनमा ल्याउने हल्लासँगै नेपालमा ढुवानी गर्दै आएका कम्पनीले आफ्ना बुलेटलाई अन्यत्र लगाएका छन्,’ उनले भने, ‘अन्यत्र काम नपाएको अवस्थामा मात्र नेपालमा ढुवानी गर्न थालेका छन् ।’

उनका अनुसार ट्रान्सपोर्ट कम्पनीले आवश्यकता अनुरुप बुलेट नदिएकै कारण इण्डियन आयल कर्पोरेशनले लोडिङ बढाएपनि ग्यास ल्याउन सएिको छैन । ‘केही समय यता आईओसीले ग्याँस लोडिङ बढाएको छ तर ल्याउन बुलेट नै छैन,’ उनले भने, ‘कामभन्दा हल्ला बढी हुँदा भारतीय कम्पनीहरु ससंकित भएका छन् जसको असर देखि थालिसकेको छ ।’

नेपालमा आधा दर्जनभन्दा बढी भारतीय ट्रान्सपोर्ट कम्पनीले ग्याँस ढुवानी गर्दै आएका छन् । त्यसमध्ये शक्ति रोडवेज र सिमा रोडवेजले आवश्यकता अनुसार ३ सयभन्दा बढी बुलेटे उपलब्ध गराउँदै आएका छन् । विशेषगरी बढी बुलेट दिने कम्पनीले नै अन्यत्र काम पाएसम्म नेपालमा ढुवानी गर्न छाडेको मल्लीको भनाइ छ । ‘भारतीय ट्रान्सपोर्ट कम्पनीहरु नेपालमा व्यवसाय गर्न आएका हुन,’ उनले भने, ‘नेपालीले बुलेट राख्ने हल्लाले उनीहरुले अहिले देखि नै व्यवसाय डाइभर्ट गर्न थालिसके ।’ यदि भारतीय कम्पनीले अहिले देखि नै बुलेट डाइभर्ट गर्ने हो भने ग्याँस ल्याउन नै समस्या पर्ने उनले जानकारी दिए ।

यसैगरी, नेपाल ग्याँस उद्योगका कार्यकारी निर्देशक भण्डारी पनि पछिल्लो समय भारतीय कम्पनीले केही मात्रामा बुलेट घटाएको बताउँछन् । ‘नेपालका उद्योगी आफैले बुलेट ल्याएर संचालन गर्न अझै २ वर्षभन्दा बढी समय लाग्छ,’ उनले भने, ‘तर, भारतीय व्यवसायीहरु आफ्नो व्यवसाय सुरक्षित गर्न अहिले देखि नै आफ्ना बुलेटलाई अन्त लगाउन थालिसके ।’

तर, भारतीय ट्रान्सपोर्ट कम्पनीले भने नाकाबन्दीका समयमा आफुले काम नपाएकाले उक्त समयमा आफ्ना बुलेटलाई अन्यत्र लगाएको बताउँदै आएका एक उद्योगीले जानकारी दिए । ‘भारतीय ट्रान्सपोर्ट कम्पनीले नाकाबन्दीको बेलामा मात्र बुलेटलाई अन्यत्र प्रयोग गरेको जानकारी दिएका छन्,’ ती उद्योगीले भने, ‘तर, नाकाबन्दी खुलेको लामो समय भइसक्दा पनि बढाएका छैनन ।’

नेपाल आयाल निगमले भने भारतीय कम्पनीले बुलेट संख्या नघटाएको बताउँदै आएको छ । ‘पछिल्लो समय सामान्य अवस्थामै जसरी ग्याँस आइरहेको छ,’ उनले भने, ‘सामान्य अवस्थाको वेलामा भन्दा बढी ग्याँस ल्याउन भने केही समस्या भएको हो ।’ हाल नेपालमा मासिक २९ हजार १६ मेट्रिक टन ग्याँस आयात हुँदै आएको छ । जसको लागि ६ सयभन्दा बढी भारतीय बुलेटले ढुवानी गर्दै आएका छन् ।

भारती कम्पनीसँग ५ वर्षे सम्झौता गर्न आग्रह

ग्याँस उद्योगीहरुले भारतीय ट्रान्सपोर्ट कम्पनीसँग ग्याँस ढुवानीका लागि ५ वर्षे सम्झौता गर्न नेपाल आयल निगमलाई अनुरोध गरेका छन् । निगमले ग्याँस उद्योगीलाई बुलेट राख्न अनुमति दिएसँगै भारतीय कम्पनीले ढुवानी गर्न छाड्ने भएकोले उनीहरुको व्यवसाय सुरक्षित गर्नका लागि पनि उक्त सम्झौता गर्न अनुरोध गरिएको उपाध्यक्ष मल्लीले जानकारी दिए । ‘कुुनै पनि व्यवसायीले आफ्नो व्यवसाय सुरक्षित गर्न जहाँ राम्रो हुन्छ त्यहि काम गर्छ,’ उनले भने, ‘तसर्थ भारतीय ट्रान्सपोर्ट कम्पनीले पनि आफ्ना बुलेटलाई तत्काल अन्यत्र डाइभर्ट गर्ने सम्भावना भएकोले सुरक्षाका लागि पनि सम्झौता जरुरी छ ।’

नेपाली उद्योगीले आफ्नै बुलेट बनाउनका लागि झण्डै ३ वर्ष लाग्ने र सो समयसम्मका लागि भारतीय बुलेटबाटै ग्याँस आयात गर्नुपर्ने समेत उनले जानकारी दिए । हाल निगमले नेपाली उद्योगीलाई ४ सय ५० वटा बुलेट राख्नका लागि स्वीकृति दिएको छ । तर, उक्त बुलेट निर्माणका लागि २ वर्षभन्दा बढी समय लाग्ने सम्बद्ध उद्योगीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्