Logo

श्रीलंकाका लागि नेपाली राजदूत र चेम्बर पदाधिकारीबीच भेट, व्यापार सहकार्यको निरन्तरतामा जोड

श्रीलंकाका लागि नेपाली राजदूत र चेम्बर पदाधिकारीबीच भेट, व्यापार सहकार्यको निरन्तरतामा जोड



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आज भेटवार्ता भएको छ । श्रीलंकामा कार्यभार सम्हाल्न जानु अघि राजदूत मिश्रले चेम्बरका पदाधिकारीसँग भेटवार्ता गरेका हुन् । मिश्रसँगको भेटका क्रममा चेम्बर पदाधिकारीले कठिन परिस्थितीबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेका थिए । चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत मिश्रको कार्यकालको सफलताको कामना गरे ।

श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतिपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको अग्रवालको भनाई छ । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुइ मुलुकवीच व्यापारका लागि अझै पनि ठूलो संभाबना रहेको अग्रवालले बताए ।

नेपाल चेम्बर अफ कर्मस र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यवसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने अग्रवालले आशा व्यक्त गरेका छन् । अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सभावना रहेको र भारत सहित त्रिपक्षीय सम्झौताको आवश्यकतामा समेत जोड दिए ।

बुद्धको जन्मभुमी लुम्विनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य वन्न सक्ने र लुम्विनी अन्तरराष्ट्रिय बिमानस्थलको निर्माणले कोलम्वो लुम्बिनी सिधा बिमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवहाक अध्यक्ष अग्रवालले राजदूत मिश्रसंग आग्रह गरे । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफु आशावादी रहेको बताए । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रर्वद्धनका लागि आफुले पहल गर्ने राजदूत मिश्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्