काठमाडौं । मुद्रास्फीति नियन्त्रण गर्न भारत सरकारले अर्को ठूलो निर्णय गरेको छ । भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएको केही दिनमै चिनी निकासीमा पनि रोक लगाउँदै चिनी निर्यातलाई एक लाख टनमा सीमित गर्ने निर्णय गरेको छ । भारत सरकारले चिनीको मूल्यवृद्धि रोक्न र मुलुकमा चिनीको आपूर्ति सहज बनाउन यो निर्णय गरेको जनाएको छ । यो प्रतिबन्ध आगामी जुन १ देखि अर्को आदेश नआएसम्म कायम रहनेछ । चिनी मिल र निकासीकर्ताले असार १ गतेपछि निकासीका लागि निकासी रिलिज अर्डरको रूपमा सरकारबाट स्वीकृति लिनुपर्नेछ । जसरी भारतमा चिनीको भाउ बढ्दै गएको छ, त्यसले ढिलो चाँडो चिनी निकासीमा प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको थियो ।
भारतले ६ वर्षमा पहिलो पटक चिनी निकासीमा प्रतिबन्ध लगाएको हो । भारतले आन्तरिक माग पूरा गर्न कम्तीमा दुई–तीन महिना थप चिनी मौज्दात राख्न चाहेको बताइएको छ । तथ्यांकअनुसार भारतले ठूलो परिमाणमा चिनी निकासी गर्दै आएको छ । भारतमा चालू चिनी सिजनमा ९० लाख टन निकासीका लागि सम्झौता भएको छ भने चिनी मिलबाट ८२ लाख टन चिनी निर्यातका लागि पठाइएको छ । यसमध्ये करिब ७८ लाख टन चिनी निर्यात भएको छ । यो वर्ष भारतले कीर्तिमानी चिनी निकासी गर्ने गरेको छ ।
चिनीको मूल्य
हाल भारतमा चिनीको मूल्य थोक बजारमा प्रतिक्विंटल ३ हजार १ सय ५० देखि ३ हजार ५ सय रुपैयाँसम्म चलिरहेको छ । योसँगै यसको खुद्रा मूल्य प्रतिकिलो ३६ देखि ४४ रुपैयाँसम्म चलिरहेको छ । निर्यात बढेसँगै देशमा चिनीको मूल्य बढ्न थालेको हो । तर, पछिल्लो एक वर्षमा चिनीको मूल्य प्रतिकिलो २ रुपैयाँले बढेको छ । तर, भारत सरकारले जोखिम मोल्न नचाहेको र यही कारण सरकारले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । तर, भारत सरकारले सिएक्सएल र टिआरक्युअन्तर्गत युरोपियन युनियन र अमेरिकामा निकासी हुने चिनीमा यो प्रतिबन्ध लागू नहुने स्पष्ट पारेको छ । अन्य मुलुकमा निकासीमा प्रतिबन्ध लाग्नेछ ।
चिनी निर्यातमा भारत विश्वमा दोस्रो स्थानमा छ । विश्वमा भारतभन्दा धेरै चिनी निर्यात गर्ने ब्राजिल मात्रै छ । यस्तो अवस्थामा भारतबाट चिनी निकासीमा प्रतिबन्धका कारण धेरै देशले समस्या भोग्नु पर्न सक्छ । इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी मुलुकले सबैभन्दा बढी चिनी भारतबाट खरिद गर्छन् । उत्तर प्रदेश, महाराष्ट्र र कर्नाटक भारतमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने राज्यहरू हुन्। यी तीन प्रदेशले देशको कुल चिनीको ८० प्रतिशत उत्पादन गर्छन् ।
नेपालकै उद्योगको उत्पादनले पुग्ने भन्दै नेपालमा चिनी आयातमा प्रतिवन्ध लगाईएको छ । जसका कारण भारतले चिनी निर्यातमा प्रतिवन्ध लगाउँदा पनि नेपालमा यसको असर पर्दैन । यस्तो हुँदा चिनीको मूल्यमा पनि असर नपर्ने व्यापारीहरु बताउँछन् । चिनी उद्योगीहरुले हालसम्म नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग रहेको र सोही अनुसार नेपाली उद्योगले नै धानिरहेको बताउँदै आएका छन् । तर, वास्तविकतामा नेपाली चिनी उद्योगबाट बार्षिक १ लाख २० हजार मेट्रिक टन चिनी मात्र उत्पादन हुन्छ ।
यस्तै बेलामा चिनीमा कालोबजारी निम्त्याउन उद्योगीहरुले चिनी आयातमा प्रतिवन्धको माग गरेको बताईन्छ । सरकारले चिनी आयातमा प्रतिवन्ध लगाएपनि चालु आर्थिक बर्षको १० महिनामा नेपालले भारतबाट मात्रै ५ अर्ब बराबरको १ लाख मेट्रिक टन चिनी आयात गरेको छ । नेपाली चिनी उद्योगीहरुले भारत, पाकिस्तानलगायतका देशबाट सस्तोमा चिनी आयात गरी नेपालमा महंगोमा बेच्ने गरेको देखिन्छ । जसको पुष्टि चिनी आयातको तथ्यांकले पनि देखाउने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।