Logo

आयात निरुत्साहन गर्दा पनि १० महिनामा १४ खर्बको व्यापारघाटा, निर्यातमा ५९ प्रतिशतको वृद्धि

आयात निरुत्साहन गर्दा पनि १० महिनामा १४ खर्बको व्यापारघाटा, निर्यातमा ५९ प्रतिशतको वृद्धि



काठमाडौं । सरकारले आयातमा अंकुश लगाउँदा पनि आयात व्यापारको ग्राफ उकालो लाग्न रोकिएको छैन । नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालय स्वयंले आयातको व्यापार उच्च हुँदा यसमा संकुचन ल्याउन आयातलाई निरुत्साहनको नीति लिएका छन् । तर, पनि चालु आर्थिक बर्षको १० महिना (साउनदेखि बैशाखसम्म)मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापारघाटा सहेको छ ।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार १० महिनामै नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु आयात गर्दा १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात गरेको छ ।
भन्सार विभागका अनुसार आयात उल्लेख्य मात्रामा हुँदा १० महिनामा गत बर्षको तुलनामा आयातित वस्तुको हिस्सा २७ दशमलव ९५ प्रतिशतले बढेको छ । यस्तै यस अवधिमा नेपालले गर्ने निर्यात व्यापार भने ५९ दशमलव ८० प्रतिशतले बढेको देखिन्छ ।

अन्तरराष्ट्रिय बजारमा डलर बलियो हुँदै जानु, नेपालले चाहेभन्दा बढी वस्तु आयात गर्नुलगायतका कारणले नेपालको व्यापारघाटा चुलिँदो छ । यसको नियन्त्रणका लागि सरकारले आयातमा कडाई गरेपनि व्यापारघाटाको ग्राफ भने उकालो लागिरहेकै छ । भन्सार विभागका अनुसार पछिल्लो १० महिनामा नेपालमा गत आवको सोही अवधिको तुलनामा व्यापारघाटा २४ दशमलव ९४ प्रतिशतले बढेको हो ।

नेपालको कुल वैदेशिक व्यापारमा आयात व्यापारको हिस्सा ९० दशमलव २५ प्रतिशत छ भने निर्यात व्यापारको हिस्सा जम्मा ९ दशमलव ७५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्