Logo

बैशाखमा मात्रै ३२ अर्बको लगानी प्रतिवद्धता, उत्पादनमुलक उद्योगमा आकर्षण, विदेशी लगानी न्युन

बैशाखमा मात्रै ३२ अर्बको लगानी प्रतिवद्धता, उत्पादनमुलक उद्योगमा आकर्षण, विदेशी लगानी न्युन



काठमाडौं । चालु बर्षको बैशाख महिनामा मात्रै नेपालमा ३० अर्ब बढीको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार गत बैशाख १ गतेदेखि ३० गतेसम्म मात्रै विभिन्न ३३ परियोजनामा ३० अर्ब ८१ करोड ५५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको हो । यी परियोजनामार्फत ३ हजार ४६ जनाले रोजगारी पाउने बताइएको छ ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी लगानी भने उत्पादनमुलक क्षेत्रकै परियोजनामा आएको छ । यो क्षेत्रका १२ परियोजनामार्फत १७ अर्ब ३७ करोड ९६ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । यो बैशाख महिनामा आएको कुल लगानी प्रतिवद्धताको ५६ प्रतिशत हो । यसअघि स्वदेशी लगानी जहिले पनि उर्जा क्षेत्रमा बढी हुन्थ्यो । अर्थात अन्य क्षेत्रका परियोजनाको तुलनामा उर्जा क्षेत्रका परियोजना बढी लागतका हुने भएकाले उर्जा क्षेत्रमार्फत बढी लगानी प्रतिवद्धता आएको देखिन्थ्यो । उर्जा क्षेत्रका परियोजनाको संख्या भने अन्य क्षेत्रका परियोजनाको तुलनामा न्यून हुन्थ्यो । गत बैशाखमा भने उत्पादनमुलक पछि सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको क्षेत्र उर्जामुलक क्षेत्र हो ।

बैशाख महिनामा उर्जा क्षेत्रका ५ परियोजनामार्फत ९ अर्ब ७८ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको देखिन्छ । गत बर्षको बैशाख महिनामा नेपालमा ६ अर्ब ९३ करोड ५२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । १५ ओटा परियोजनामार्फत आएको उक्त प्रतिवद्धतामार्फत ८ सय ४८ जनाले रोजगारी पाउने बताईएको छ । कोरोना महामारीको चरम संकटका कारण गत बर्षको बैशाख महिनामा लगानी प्रतिवद्धता उल्लेख्य रुपमा आउन सकेको थिएन ।

यो बर्षको बैशाख महिनामा पर्यटन क्षेत्रका ६ परियोजनामार्फत २ अर्ब, सेवा क्षेत्रका ३ परियोजनामार्फत २५ करोडा ५० लाख र कृषि तथा वन पैदावार क्षेत्रका ३ परियोजनामार्फत ६१ करोड ९० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै पूर्वाधार क्षेत्रका २ परियोजनामार्फत ६३ करोड १० लाख र सूचना प्रविधिमा आधारित २ परियोजनामार्फत १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा बढी लगानी सुर्खेतमा

विभागको तथ्यांकलाई केलाउँदा बैशाख महिनामा सुर्खेतमा मात्रै १४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । सुर्खेतमा एउटै परियोजनामार्फत १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । त्यसपछि धेरै लगानी प्रतिवद्धता आउने जिल्ला मनाङलाई लिन सकिन्छ । मनाङमा पनि एउटै परियोजनामार्फत ३ अर्ब ६८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

यस्तै धादिङ जिल्लामा पनि एउटा परियोजनामार्फत ३ अर्ब १७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यता काठमाडौंमा भने सबैभन्दा बढी परियोजना दर्ता भएपनि लगानी भने न्युन छ । काठमाडौंमा बैशाख महिनामा ९ परियोजनामार्फत २ अर्ब ३७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । यस्तै मोरङ जिल्लामा भने विभिन्न ४ परियोजनामार्फत ६६ करोड ९१ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार नवलपरासी, झापा, चितवनलगायतका जिल्लामा २-२ परियोजनामा लगानी प्रतिवद्धता आउँदा १२ जिल्लामा १÷१ परियोजनामा लगानी प्रतिवद्धता आएको हो । बैशाख महिनामा कुल १७ जिल्लामा उद्योग स्थापनाका लागि लगानी प्रतिवद्धता आएको थियो ।

वैदेशिक लगानी १ अर्ब १८ करोड मात्रै

गत बैशाखमा नेपालमा स्वदेशी लगानी प्रतिवद्धता उल्लेख्य मात्रामा भएपनि वैदेशिक लगानी भने कमै छ । विभागको तथ्यांकलाई हेर्दा बैशाख महिनामा ९ परियोजनामार्फत १ अर्ब १८ करोड ३० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको हो । बैशाखमा आएको वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमै छ । यो क्षेत्रमा बैशाखमा २ परियोजनामार्फत ५६ करोड ५० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

यस्तै सेवा क्षेत्रका ३ परियोजनामार्फत ३१ करोड ८० लाख र पर्यटन क्षेत्रका ४ परियोजनामार्फत ३० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । यस अवधिमा नेपालमा सबैभन्दा बढी लगानी भारतबाट आएको देखिन्छ । बैशाखमा भारतीय १ परियोजनामार्फत ४६ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आउँदा चीनबाट ३५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । यस्तै यसै अवधिमा इटालीबाट १५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आउँदा नेदरल्याण्डबाट ६ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । मेक्सिको, बेलायत र अमेरिकाबाट भने बैशाख महिनामा ५-५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । गत बर्षको बैशाखमा नेपालमा १ अर्ब ११ करोड ४२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL