Logo

खाद्य संकट हुन नदिन बजेटमा विशेष व्यवस्थाको पहल गरेका छौं : उद्योगमन्त्री बडु

खाद्य संकट हुन नदिन बजेटमा विशेष व्यवस्थाको पहल गरेका छौं : उद्योगमन्त्री बडु



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले पछिल्लो समय निम्तिएको खाद्य संकट र उच्च मूल्यवृद्धि नियन्त्रण गर्न बजेटमा बिशेष व्यवस्थाको पहल गरेको बताएका छन् । आईतबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले आयोजना गरेको विश्वव्यापी खाद्य तथा ईन्धन समस्याको प्रभाव एवं समाधानका उपायसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भारतलगायत देशहरुले वस्तु निर्यातमा लगाएको प्रतिवन्धको प्रत्यक्ष असर नेपालमा परेको भन्दै यस्ता प्रकारका वस्तुहरुको उत्पादन नेपालमै गर्नेगरी बजेटमा व्यवस्था गर्न लागेको बताए । उनका अनुसार आगामी आर्थिक बर्षको बजेटमा नेपालमा उत्पादन बढाउने र आयातलाई निरुत्साहित गर्नेगरी विभिन्न पहल भईरहेको छ । मन्त्रालयको तर्फबाट गरिने पहलले सिधै कृषकलाई र उत्पादनकर्तालाई राहत पुग्ने उनले बताए ।

रुस र युक्रेनबीचको युद्धका कारण विश्वभर उपभोग्य वस्तुहरुको मूल्य अचाक्ली बढेको छ । केहि देशहरुले आफ्नो देशमा मूल्य नियन्त्रण र खाद्य संकट निर्मल पार्न, खानेतेल, गहुँ, अन्नलगायतको निर्यातसमेत बन्द गरिसकेका छन् । जसको प्रत्यक्ष असर नेपाललगायत कम विकसित मुलुकहरुमा परेको छ । यस्तै समस्या समाधानका लागि बजेटमै कृषि, पर्यटन, उत्पादनलगायतका क्षेत्रलाई बिशेष ध्यानमा राखिएको बताए । यस्तै धेरै आयात हुने इन्धन, खाद्यान्नलगायतका वस्तुको आयातको विकल्पमा जानेबारे सोचिसकेको उनको भनाई छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले नेपालमा उत्पादन बढाई आयात बढाउनुपर्ने र अचाक्ली मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL