Logo

उद्योगमन्त्रीले निजी क्षेत्रसँग मागे स्वदेशी उत्पादन बढाउने उपाय, उद्योगीले भने ‘उद्योगको प्रवर्द्धन गर्ने नीति लिनुपर्छ’

उद्योगमन्त्रीले निजी क्षेत्रसँग मागे स्वदेशी उत्पादन बढाउने उपाय, उद्योगीले भने ‘उद्योगको प्रवर्द्धन गर्ने नीति लिनुपर्छ’



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले निजी क्षेत्रका प्रतिनिधिसँग स्वदेशी उत्पादनको वृद्धि र आयातित वस्तुको परनिर्भरताको अन्तयको उपाय मागेका छन् । शुक्रबार स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि, आयात व्यवस्थापन एवं निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनमा समावेश गर्नुपर्ने कर नीति, भन्सार नीति, भन्सार दर एवं एचएस कोड समायोजनरपरिमार्जन गर्ने विषयमा आयोजना गरिएको छलफलमा उनले उपाय मागेका हुन् ।

छलफलमा मन्त्री बडुले आन्तरिक उत्पादन वृद्धिमा देखिएका नीतिगत एवं अन्य कठिनाईहरुको समाधान गर्न सरकार तयार रहेको बताएका छन् । उनले नेपाल आफैले उत्पादन गर्न सक्ने र स्वदेशमै उपलब्ध हुने दैनिक उपभोग्य वस्तुहरुमाथिको निर्भरता चिन्ताको विषय भएकोले यसमा तत्काल देखिने गरि काम गर्नुपर्ने बताए । यस्तै उनले स्वदेशी वस्तु उपभोगको संस्कृति अभिवृद्धि गर्न सबैले जोड् दिनुपर्ने बताएका छन् । सरकारले निजी क्षेत्रसँगको समन्वयमा नेपालमा उपलब्ध नभएका पेट्रोलिमय पदार्थलगायतका अन्य वस्तुहरूको विकल्पमा जान अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने र यससम्बन्धमा निजी क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा गरिएको बताए ।
निजी क्षेत्रका प्रतिनिधिहरुले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने, उत्पादन लागत घटाउन व्यापार सहजीकरण, उद्योगको विकासका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुलाई प्रवर्द्धन गर्ने नीति लिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
छलफलमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेय, अर्जुन प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघलगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्