Logo

विश्वबजारमा खाना पकाउने तेल अभाव, नेपालमा भने आगामी ३ महिनासम्म ढुक्क

विश्वबजारमा खाना पकाउने तेल अभाव, नेपालमा भने आगामी ३ महिनासम्म ढुक्क



काठमाडौं । युक्रेनमाथि रुसले गरेको हमलापश्चात विश्व बजारमा खानेतेलको आपुर्ति श्रीङ्खला खल्बलिएको छ । युद्धकै कारण खानेतेल आयात गरेर खपत गर्ने विश्वका केहि देशमा तेलको अभाव र मूल्य उच्च हुन थालिसकेको छ ।

त्यसको असर नेपालमा पनि देखियो । पछिल्लो केहि महिनामै तेलको उपभोक्ता मूल्य प्रतिलिटर बढेको भन्दै यसको आयातमा लाग्ने भन्सारशुल्क शुन्य गरिसकेको छ । अझै अतिरिक्त शुल्कहरुमा पनि कटौति गर्ने तयारी गरिरहेको छ ।

युक्रेन र रुस युद्धमा होमिएपछि त्यहाँबाट हुने तेल निर्यात भएन । यस्तो हुँदा पाम तेलको प्रमुख निर्यातकर्ता इन्डोनेसियालेसमेत आफ्नो देशमा तेलको मूल्य सन्तुलनमा राख्न पाम तेलको निकासी रोक्यो । जसको असर भारतीय बजारमा देखियो र भारतले तेलको आयातमा भन्सार घटायो ।

यी तथ्यलाई हेर्दा विश्व बजारमा खानेतेलको अभाव बढ्दै गएको र त्यसैका कारण मूल्य अत्याधिक बढेको मान्न सकिन्छ । तर, नेपालमा भने आगामी ३ महिना खानेतेलको अभाव नहुने उद्योगीहरु बताउँछन् । नेपालमा आगामी ३ महिनाका लागि आवश्यक कच्चा खानेतेलको भण्डारण रहेको पाम तेल प्रशोधनकर्ता प्रदिप मुरारका बताउँछन् । उनका अनुसार विश्वभर हाल खानेतेलको हाहाकार छ । जसका कारण धेरै देशमा यसको मूल्य पनि उच्च हुन पुगेको छ । ‘विश्वका केहि देशहरुमा खानेतेल र यसको कच्चा पदार्थको अभाव चुलिँदो छ,’ उनले भने, ‘नेपालमा भने आगामी ३ महिनासम्मका लागि पुग्ने भटमास, सुर्यमुखी र पाम तेलको भण्डारण छ ।’

उनका अनुसार विश्वबजारमा तेलको आपुर्ति श्रींखलामा असर पर्दा यसको मूल्य अत्याधिक बढेको छ । नेपाली उद्योगीहरुले केहि महिनाअघि सम्म मात्रै विदेशबाट कच्चा खानेतेल प्रति टन १ हजार डलरसम्ममा आयात गरिरहेका थिए । पछिल्लो समय उक्त मूल्य बढेर प्रतिटन २ हजार डलरको हाराहारीमा पुगेको मुरारका बताउँछन् । नेपालले युक्रेन, रसिया, अर्जेन्टीना, इन्डोनेसियालगायतका देशबाट कच्चा खानेतेल आयात गरी प्रशोधन गरी भारतमा निकासी गर्ने गरेको छ । पछिल्लो समय नेपालले गर्ने निर्यात व्यापारमा खानेतेलको हिस्सा उच्च छ । उद्योगीहरुले आगामी ३ महिनासम्म निर्यात गर्नसमेत पुग्ने तेल रहेको बताएका छन् ।

विश्वभर देखिएको आपुर्ति श्रींखलाकै कारण नेपालमा तेलको उपभोक्ता मुल्यसमेत उच्च रुपमा बढेको छ । पछिल्लो ३ महिनामा मात्रै नेपालमा खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्म बढिसकेको व्यापारीहरु बताउँछन् । ३ महिना अघि प्रतिलिटर २ सय ५० रुपैयाँमा पाईन भटमासको तेल हाल ३ सय रुपैयाँ पुगेको छ । यस्तै प्रतिलिटर २ सय ६० रुपैयाँमा पाईने सुर्यमुखीको तेल पनि हाल बढेर प्रतिलिटर ३ सय १० रुपैयाँसम्म पुगेको भन्दै व्यापारीहरुले बेचिरहेका छन् । उद्योगीहरुले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि बढेको भनेको तेल व्यापारीहरुले पनि सोही अनुसार बेचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्