Logo

नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु, नेपालका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने लक्ष्य

नेपालमा बोसको बिक्री सम्पर्क कार्यालय सुरु, नेपालका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिने लक्ष्य



काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ । भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो ।

नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको छ । एसिया र प्रशान्त क्षेत्रमा इन्जिनियरिङ तथा उत्पादनमूलक क्षेत्रको विस्तार र स्थानीयकरणमा गतिशील विकासले गर्दा प्रगतिका अवसरहरु बढेका छन् ।

यस क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ । नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ ।

११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिनेछ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले भने, ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा छौं । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरुका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको छ । हामीले हाम्रा अत्याधुनिक र विशिष्ट रुपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका छौं । हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षा गर्दछौं ।’

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको छ । समय क्रममा बोसले जीवनस्तरलाई अझ माथि उकास्ने लक्ष्य लिएर उपयोगी र रोमाञ्चक उत्पादन तथा समाधान विकास गर्ने उद्देश्य प्राप्तिका लागि अनुसन्धान र विकासमा अर्बौं युरो लगानी गरेको छ ।

बोस ग्रुपका बारेमा

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख १ हजार ३०० जनालाई रोजगारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को बिक्री ७८.८ अर्ब युरो बराबर छ । यसको सञ्चालन व्यवसायका चार क्षेत्रमा विभाजित छन्ः मोबिलिटी सलुसन्स, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि हुन् । प्रमुख आईओटी प्रदायकको रुपमा बोसले स्मार्ट घर, इन्डस्ट्री ४.० र कनेक्टेड मोबिलिटीका लागि नयाँ नयाँ सलुसन्सहरु प्रदान गर्दछ । बोसले दीर्घकालीन, सुरक्षित र रोमाञ्चकारी मोबिलिटीको भिजन पछ्याइरहेको छ । यसले आफ्नो विज्ञता सेन्सर प्रविधि, सफ्टवेयर र सेवामा प्रयोग गर्दछ । यसको आफ्नै आइओटी क्लाउड छ । यसको उद्देश्य आफ्ना ग्राहकलाई एउटै स्रोतबाट संयोजित, क्रस–डोमेन समाधानहरु प्रस्तुत गर्नु हो ।

बोस समूहको रणनीतिक उद्देश्य कृत्रिम बौद्धिकता (एआई)युक्त वा यसको सहयोगमा उत्पादित वा विकसित वस्तु र समाधानसँग जोडिएको जीवनलाई सहजीकरण गर्नु हो । बोसले नवीन उत्पादन र सेवामार्फत विश्वभरको जीवनको गुणस्तर सुधार गर्दै उमंग जागृत गराउँछ । छोटकरीमा भन्नुपर्दा यसले ‘जीवनका लागि आविष्कार गरिएको’ प्रविधि सिर्जना गर्दछ । द बोस ग्रुपमा रोबर्ट बोस जिएमबिएच र यसका करिब ४४० भगिनी संस्था तथा ६० देशमा छरिएका क्षेत्रीय कम्पनीहरु छन् । सेल्स एन्ड सर्भिस पार्टनरसहित बोसको ग्लोबल म्यानुफ्याक्चरिङ, इन्जिनियरिङ र बिक्री सञ्जालले विश्वका लगभग सबै मुलुकलाई समेट्छ । विश्वभर ४०० भन्दा बढी ठेगाना रहेको बोस ग्रुप सन् २०२० को पहिलो त्रैमासदेखि कार्बन न्युट्रल (कार्बन तटस्थ) बनेको छ । कम्पनीको भावी प्रगतिको आधार यसको नवप्रवर्तन शक्ति हो । विश्वका १२८ ठेगानामा बोसले ७६ हजार ३०० जनशक्तिलाई अनुसन्धान र विकासमा खटाएको छ, जसमा ३८ हजारभन्दा बढी सफ्टवेयर इन्जिनियर छन् ।

यो कम्पनी सन् १८८६ मा स्टुटगार्टमा रोबर्ट बोस (१८६१–१९४२)ले ‘वर्कसप फर प्रिसिसन मेकानिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियर’को नामबाट स्थापना गर्नुभएको हो । रोबर्ट बोस जिएमबिएचको विशेष स्वामित्व संरचनाले बोस समूहको उद्यमसम्बन्धी स्वतन्त्रताको ग्यारेन्टी गर्छ, जसले गर्दा कम्पनीलाई दीर्घकालीन योजना बनाउन र आफ्नो भविष्यको सुरक्षामा महत्वपूर्ण अग्रिम लगानीहरु गर्न सम्भव बनाउँछ । रोबर्ट बोस जिएमबिएचको ९४ प्रतिशत सेयर पुँजी परोपकारी फाउन्डेसन रोबर्ट बोस स्टिफ्टुङ जिएमबिएचसँग छ । बाँकी शेयर रोबर्ट बोस जिएमबिएचसँग र बोस परिवारको स्वामित्वमा रहेको एउटा निगमसँग छ । बहुमत मताधिकार रोबर्ट बोस इन्डस्ट्रिएट्रेउहान्ड केजीसँग छ । यो चाहिँ औद्योगिक ट्रस्ट हो । उद्यमसम्बन्धी स्वामित्वको काम सोही ट्रस्टबाट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्