Logo

रुग्ण उद्योग संचालनमा उद्योगमन्त्रीको एक्शन, संचालन मोडालिटी तत्काल तयार गर्न निर्देशन

रुग्ण उद्योग संचालनमा उद्योगमन्त्रीको एक्शन, संचालन मोडालिटी तत्काल तयार गर्न निर्देशन



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग संचालनको मोडालिटी बनाएर तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालय अन्तर्गतका सचिव, ६ वटा विभाग, ७ वटा महाशाखा प्रमुख र सहसचिवसँगको छलफलमा उनले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको विषय सँधै सरकारको प्राथमिकतामा पर्ने भए पनि हालसम्म सञ्चालन हुन नसकेकोले तत्काल उपयुक्त मोडालिटी तयार गरी पुनः सञ्चालन ल्याउन निर्देशन दिएका हुन् । उनले यस्ता उद्योग संचालनमा ल्याई राष्ट्रिय उत्पादन वृद्धि गर्नुका साथै पर्याप्त रोजगारी सृजना गर्नुपर्ने आवश्यक रहेको बताए ।

उनले रुग्ण उद्योग सञ्चालनका लागि विभिन्न तहमा छलफल तथा अध्ययन भए पनि अहिलेसम्म परिणाम नदेखिएकोले अब तत्काल कार्यान्वयनमा जाने गरी सञ्चालन ढाँचा (मोडालिटी) बनाउन र सम्बद्ध सबै पक्षसित छलफल र सुझाव लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

यस्तै उनले राज्य संयन्त्र र प्रायः सबैको ध्यान चुनावमा केन्द्रित भएको मौकामा अत्यावश्यक उपभोग्य वस्तु (खाद्य सामग्री, तरकारीलगायत) को अस्वभाविक मूल्य वृद्धि, कालोबजारी र कृत्रिम अभाव देखाई अनुचित फाइदा लिने प्रवृतितर्फ सचेत रहँदै संघीय, प्रदेश, जिल्ला तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

छलफलका क्रममा मन्त्री बडुले मंगलबारको मन्त्रिपरिषद् बैठकले कम आवश्यक, विलासी एवं स्वास्थ्यका लागि हानिकारक १० वटा सामानको आयातमा चालु आर्थिक वर्षको असार मसान्तसम्म परिमाणात्मक बन्देज लगाउने कुरा अल्पकालीन भएको र यसलाई आन्तरिक वस्तु उत्पादन तथा उपभोगको अवसरका रुपमा समेत बुझ्न, बुझाउन जरुरी रहेको बताए । उनले अहिले देखिएको व्यापार घाटा तथा विदेशी मुद्राको व्यायभार कम गर्न आंशिक रुपमा भए पनि आयात प्रतिस्थापन एवं व्यवस्थापनको अल्पकालीन उपाय अवलम्बन गरिएको बताएका हुन् । यसको दीगो व्यवस्थापनका लागि दीर्घकालीन रुपमा स्वदेशी उद्योगको प्रवर्द्धन र आन्तरिक उत्पादन वृद्धिको लक्ष्यमा केन्द्रीत हुनुपर्ने उनको भनाई थियो ।

आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार साताको २ दिन विदा दिने गरी भएको निर्णयका विषयमा विभिन्न कोणबाट टिप्पणी भइरहेकाले एक हप्तामा गर्ने काम पाँच दिनमै गर्ने गरी कार्यघण्टा थप गरिएको, सरकारको सेवा प्रवाहलाई छिटोछरितो बनाउन प्रविधि (डिजिटलाइजेशन) को प्रयोग गर्नुका साथै विदाको दिन कुनै पनि बहानामा सरकारी स्रोत तथा पेट्रोलिम पदार्थको दुरुपयोग नहुने स्थिति सुनिश्चित गर्न आवश्यक मापदण्ड र नियन्त्रणात्मक प्रबन्धसहितको कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा गरिएको छलफल चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुदाँ नं. ४२६ मा उल्लेख रहेअनुसार लामो समयदेखि बन्द रहेका रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी, प्रभावकारी बजार अनुगमन र मंगलबारको मन्त्रिपरिषद् बैठकले १० वटा कम आवश्यक एवं विलासी उपभोग्य सामानको आयातमा लगाएको बन्देज तथा आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने गरी भएको निर्णयका विषयमा केन्द्रीत थियो ।

प्रतिक्रिया दिनुहोस्