Logo

एफएनसीसीआई र कोस्मेबीच समझदारीपत्रमा हस्ताक्षर, एसएमईज विकासमा सहकार्य गर्ने

एफएनसीसीआई र कोस्मेबीच समझदारीपत्रमा हस्ताक्षर, एसएमईज विकासमा सहकार्य गर्ने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)ले साना तथा मझौला उद्यम व्यवसाय (एसएमईज)विकासमा सहकार्य गर्ने भएका छन् । दुई संस्थाले शुक्रबार आयोजित एक कार्यक्रममार्फत समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा महासंघका अध्यक्ष शेखर गोल्छा र कोस्मेका उपाध्यक्ष मुन ह्वान किमले भर्चुअलमाध्यमबाट हस्ताक्षर गरे । अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको बताइएको छ ।

साना तथा मझौला व्यवसायलाई युग सुहाउँदोरूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए । अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिनुहुंदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे ।

कोस्मेका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL