काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन आर्कषण र लगानी मार्फत भारतसंगको व्यापार घाटा न्यूनीकरण गर्न नवनियुक्त राजदूत शंकर शर्मालाई सुझाव दिएको छ । भारतका लागि नवनियुक्त राजदूत शर्मासंग जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरले जलविद्युत क्षेत्रमा भारतीय निजी क्षेत्रको लगानी भित्र्याउनका लागि पहल गर्न आग्रह गरेको हो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि जलविद्युत तथा सेवा क्षेत्रमा भारतीय लगानी आर्कषित गर्नुपर्नेमा जोड दिएका छन् ।
मल्लले भने, ‘समग्र आयातको ६५ प्रतिशत हिस्सा भारतले ओगटेको छ । निर्यातको हिस्सा पनि सवैभन्दा धेरै भारतसंगै ७५ प्रतिशत छ । चालु आर्थिक वर्षको ८ महिनामै भारतसंग व्यापारघाटा ६ खर्व ७९ अर्व रुपैयाँ पुगिसकेको छ । व्यापारघाटा कम गर्ने एक मात्रै बिकल्प भारतीय लगानी मार्फत उत्पादन वृद्धि र पर्यटन आवागमन बढाउनु हो ।’
सबैभन्दा नजिकको छिमेकी भारतमा रहेका १ अर्व ३८ करोड जनसंख्याको शुन्य दशमलव २५ प्रतिशत जनसंख्यालाई मात्रै पनि नेपालको भ्रमणमा ल्याउन सकिने हो भने नेपालले धरै फाईदा लिन सक्ने अध्यक्ष मल्लको भनाई छ । मध्यम र उच्च आय भएका भारतीय नागरिकलाई नेपालमा आर्कषित गर्न सके धरै फाईदा लिन सकिने उनले बताए ।
राजदूत शर्मासंग अध्यक्ष मल्लले निर्यात सहजिकरण गरीदिन पनि आग्रह गरेका छन् । उच्चस्तरीय क्वारेन्टिन ल्याव भन्सारमा नहुँदा भारतबाट आयता निर्यात हुने वस्तुहरुको गुणस्तर मापन हुन नसकेको भन्दै अध्यक्ष मल्लले राजदूत शर्माको ध्यानकर्षण गराएका थिए ।
चेम्बरका पदाधिकारीले विशाखापट्नम बन्दरगाह, उडिसाको धाम्रा पोर्ट तथा गुजरातको मुन्द्रा पोर्टमा नेपाली व्यवसायीले अनावश्यक दुःख पाईरहेको गुनासो गरेका थिए । नेपाली सामान बोकेका कन्टेनरहरु लामो समयसम्म रोकिँदा अतिरिक्त भार बढेकाले पारवहन सहजिकरण गरिदिन चेम्बर पदाधिकारीले आग्रह गरेका थिए ।
जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजिकरण आफ्नो प्राथमिकतामा रहेको बताए । उनले क्वारेन्टीन ल्याव स्थापनाका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् । नेपाल भारत निजी क्षेत्रबीच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफुले पहल गर्ने राजदूत शर्माको भनाई छ ।