Logo

द्विपक्षीय उर्जा व्यापारमा नयाँ आयाम, न्यू बुटवल २२० केभी सबस्टेसन संचालनमा

द्विपक्षीय उर्जा व्यापारमा नयाँ आयाम, न्यू बुटवल २२० केभी सबस्टेसन संचालनमा



काठमाडौं । नवलपरासीको सुनवल नगरपालिका–१३मा निर्माण गरिएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गरेकी हुन् ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले नेपालमा खपत गरेर बढी भएको विद्युत छिमेकी मुलुकहरुमा बिक्री गर्नका लागि भइरहेको पहल सकारात्मक रुपमा अगाडि बढिरहेको बताईन्।

रसिया र युक्रेनबीचको युद्धले अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढी रहेकोले यसको प्रभाव नेपालमा समेत परिरहेको उल्लेख गर्दै भुसालले सस्तोमा उपलब्ध विद्युतको खपत बढाउन आग्रह गरिन्।

ऊर्जा सचिव देवेन्द्र कार्कीले न्यू बुटवल सबस्टेसन बनेपछि भारतसँग विद्युत व्यापारका लागि थप पूर्वाधार तयार भएको बताए ।
नेपालका लागि नर्वेकी राजदूत टोरुन ड्रामडलले नर्वेले नेपालको ऊर्जा क्षेत्रमा करिब ९ करोड अमेरिकी डलर सहयोग गरिरहेको जानकारी दिंदै सबस्टेसन निर्माणबाट विद्युत प्रसारण तथा वितरणलाई गुणस्तरीय र भरपर्दो बनाउने बताईन् । उनले ऊर्जालाई प्रतिश्पर्धी बनाउन सकिएमा नेपाल दक्षिण एसियाली क्षेत्रकै विद्युत हब बन्न सक्ने बताईन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत आपूर्तिका लागि अर्को ३३÷११ केभीको सबस्टेसन निर्माण गर्न लागिएको बताए । उनले नेपालको विद्युत महसुल सस्तो रहेको र मागेजति विद्युत उपलब्ध गराइरहेकोले यस क्षेत्रमा उद्योगहरु खोल्न आग्रह गरे।

एसियाली विकास बैंक नेपाल कार्यालयको पोर्टफोलियो विभाग प्रमुख रुडिभान डेयलले सबस्टेसन तोकिएको लागतमा निर्माण सम्पन्न गरी उदाहरणीय कार्य भएको टिप्पणी गरे । उनले स्वच्छ, विश्वसनीय र गुणस्तरीय विद्युत आपूर्तिका लागि सबस्टेसनको ठूलो योगदान रहने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL