Logo

२ करोड लागतका विरगंज उवासंघले गर्यो अस्पतालको स्तरोन्नती, ढकालले भने, राज्य–निजी क्षेत्र सहकार्यले राम्रो रिजल्ट दिन्छ

२ करोड लागतका विरगंज उवासंघले गर्यो अस्पतालको स्तरोन्नती, ढकालले भने, राज्य–निजी क्षेत्र सहकार्यले राम्रो रिजल्ट दिन्छ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन् । पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिने गरी काम गर्न सक्ने बताएका हुन् ।

‘राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पारेको छ,’ उनले भने, ‘म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु । यहाँहरुले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ । यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुच पुग्ने मात्र संकेत गर्दैन । राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको छ ।’

निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै काम पनि सहज र छिटो गर्न भन्दै राज्यले सहजीकरण गरिदिएमात्रै पुग्ने बताए । साथै निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको बताए ।

कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराएका थिए ।

यसैगरी कार्यक्रममा महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवं महासंघ केन्द्रिय सदस्य हेमराज ढकालले महासंघमा स्वास्थ्य समिति बनेपश्चात स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि अभियान नै चलाएको बताए । ‘अस्पतालको पूर्वाधार विकास जस्ता कार्यमा महासंघ अन्तरगतका सातओटै प्रदेशसँग समन्वय गरे विरगंज उद्योग वाणिज्य संघले गरेजस्तै काम गर्नुपर्नेछ,’ ढकालले भने, ‘विदेशमा जस्तै हरेर गरिव निमुखा जनताले समेत सुविधा पाउने गरी स्वास्थ्य बीमा कार्यक्रमलाई देशभर कार्यान्यवनमा लैजानु आवश्यक छ ।’ साथै स्वास्थ समिति अन्तरगत रहेर विरगंज उद्योग वाणिज्य संघले १५ ओटा आइसीयु वेड तथा सल्लेक्रिया कक्ष बनाएको भन्दै उनले विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रममा विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघ केन्द्रिय सदस्य डा. सुबोध गुप्ता अध्यक्ष अबका दिनमा निजीक्षेत्र र राजनीतिज्ञ एक भएर बिकास निर्माणमा अघि बढ्नुपर्ने बताए । मधेश प्रदेश हरेक क्षेत्रमा पछाडि परेको भन्दै यसको विकाशको लागि सम्पूर्ण निजी क्षेत्र एक भएर अघि बढ्नु पर्ने बताए । साथै विरगंज उद्योग वाणिज्य संघले पोखरीया अस्पतालको स्तरोन्नतीका २ करोड रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न बनाएको भन्दै आगामी दिनका पनि यस्ता सामाजिक काम गर्नका लागि हातेमालो गर्न सबैमा आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्