काठमाडौं । २०७७ चैतमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले नेपाल पशुपंक्षीजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरे । जसमा अण्डा, मासुजन्य वस्तु, कुखुरालगायतमा आत्मनिर्भर भएको बताईएको थियो । तर, यसरी आत्मनिर्भर भएको बताएपनि पछिल्लो ७ महिनामा मात्रै यस्ता वस्तुहरु करिव २ अर्ब बराबरको आयात भएको देखिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ७ महिनामा आत्मनिर्भर घोषणा गरिएका ६ प्रकारका वस्तुहरुको आयात मात्र १ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ बढिको छ । नेपालमै अपुग हुने र आयात गरी उपभोग गरिने वस्तुहरुलाई हचुवाका भरमा आत्मनिर्भर वस्तुको सूचिमा राखी घोषणा गर्दा यस्तो अवस्था आएको सम्बन्धित सरोकारवालाहरु बताउँछन् । नेपालमा धेरैजसो वस्तुहरु उत्पादन हुने भएपनि भनेबमोजिम अर्थात पुग्ने मात्रामा उत्पादन हुन नसक्दा भने हरेकजसो वस्तुहरु आयात गरेर उपभोग गर्नुपर्ने अवस्था छ ।
पछिल्लो ७ महिनाको तथ्यांक हेर्ने हो भने नेपालले १ अर्ब ३२ करोड रुपैयाँ बराबरको राँगा, खसीबोका, भेडा र च्यांग्रा आयात गरेको छ । यस अवधिमा नेपालले ७ लाख ७९ हजार बढि यस्ता जनावरहरु आयात गरेको हो । मासु उत्पादनका लागि पालन गरिने यस्ता जनावरहरु नेपालमा उत्पादन वा पालन गर्न सकिने भएपनि माग अनुसार नहुँदा आयात गर्नुपर्ने अवस्था आएको हो । डेढ बर्ष पहिले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले खासगरी पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेपनि पशु आयात उल्लेख्य देखिन्छ ।
यस्तै पछिल्लो ७ महिनामा नेपालले ३ करोड ८९ लाख रुपैयाँ बराबरको २ लाख ५ हजार बढि किलो मासु पनि आयात गरेको देखिन्छ । पछिल्लो समय नेपाली बजार बढिरहेको र उपभोग्य वस्तुहरुको आयात बढिरहेको अवस्थामा यस्ता वस्तुको खपत बढेको छ । नेपालमै उत्पादन उल्लेख्य रुपमा नहुँदा आयात गर्नुपरेको देखिन्छ । यस अवधिमा नेपालले ३१ करोड ८० लाख रुपैयाँ बराबरको दूध, २२ करोड ६५ लाख रुपैयाँ बराबरको दूधको पाउडर पनि आयात गरेको देखिन्छ ।
नेपालले पछिल्लो ७ महिनामा ३ करोड २३ लाख रुपैयाँ बढिको बटर, घ्यु पनि आयात गरेको देखिन्छ । नेपालले यसअघि अण्डामा पनि आत्मनिर्भर भएको घोषणा गरिसकेको भएपनि नेपालले चालु आवको ७ महिनामा ३ करोड ३७ लाख रुपैयाँ बराबरको अण्डा आयात गरेको छ ।
यस्तै सरकारले कुखुरालाई खुवाउने दानामा पनि आत्मनिर्भर भएको घोषणा गरिसकेपनि यसलाई आत्मनिर्भर मान्न नसकिने व्यवसायीहरु नै बताउँछन् । नेपाल दाना उत्पादन संघका अध्यक्ष रविन पुरीका अनुसार नेपालमा उत्पादन हुने दानाका लागि आवश्यक कच्चा पदार्थ शतप्रतिशत नै विदेशबाट आयात हुने गरेको छ । यसरी विदेशबाट आयात भएको कच्चा पदार्थलाई नेपालमा केहि मात्रामा मात्रै भ्यालु एड गरिएकाले यसलाई आत्मनिर्भर वस्तुमा गणना गर्न नमिल्ने उनको तर्क छ । यसका लागि कच्चा पदार्थको कम्तिमा ५० प्रतिशत नेपाली हुनुपर्ने उनले बताए ।
यस्तै उद्योग विभागले पनि विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको थियो । विभागले नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको विस्तृत अध्ययन प्रतिवेदनमा ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ। यसैगरी, फर्निचर, साबुन÷सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको बताएको थियो । तर, यी वस्तुहरुको पनि आयात उल्लेख्य मात्रामा भईरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपालमा उत्पादन हुने वस्तुहरुको भन्सार कडाई गर्न सकिए मात्रै नेपाली वस्तुहरुले बजार पाई विदेशी वस्तुहरु विस्थापन गर्न सकिने व्यवासायीहरु बताउँछन् । नेपाली किसानहरुले बजार नपाएर दूध पोख्नुपरेको गुनासोहरु पनि उत्तिकै सुनिन्छन् । यति मात्रै नभई विदेशबाट धुलो दूध ल्याई नेपालमा प्रशोधन पनि गर्ने गरिएको छ । जसका कारण स्वदेशी उत्पादनले उचित बजार नपाउने समस्या पनि उत्तिकै छ ।