Logo

विकासमा सुस्तता आउँदा सिमेन्ट उत्पादन खुम्चियो, उद्योगहरु क्षमताको ३० प्रतिशत मात्रै उत्पादनमा सीमित

विकासमा सुस्तता आउँदा सिमेन्ट उत्पादन खुम्चियो, उद्योगहरु क्षमताको ३० प्रतिशत मात्रै उत्पादनमा सीमित



काठमाडौं । पछिल्लो समय सिमेन्टमा आत्मनिर्भर बन्दै गएको नेपालका सिमेन्ट उद्योगहरु क्षमताअनुसार उत्पादन गर्न नपाउँदा प्रभावित भएका छन् । नेपालमा विकास खर्च हुन नसक्दा सिमेन्ट उत्पादन र व्यवसायमा असर देखिएको हो । मारुती सिमेन्ट प्रालिका अध्यक्ष नन्दकिशोर राठीे हाल विकास आयोजना तथा परियोजनाहरुको काम सुस्त हँुदा सिमेन्ट बिक्रिमा असर देखिएको बताउँछ । पछिल्लो समय देशमा बिकास निर्माण कार्यले सोचेअनुरुपको गति लिन नसक्दा अहिले सिमेन्ट उद्योग संकटमा परेको बिजखबरसँगको कुराकानीमा उनले बताए ।

सिमेन्ट विकास निर्माणका लागि खपत हुने वस्तुको एक महत्वपूर्ण र आवश्यक वस्तु भएकाले विकास निर्माणले गति लिदा स्वभाविक रुपमै उत्पादन र व्यवसायले गति लिन्छ । देशमा विकास खर्च कम हँुदा सिमेन्टको खपतमा कमी आएको राठीले बताए । उनले बजारमा पैसा नहुदा सिमेन्ट ब्यवसायमा संकट परेको बताए । ‘पूँजीगत खर्च कम हुदा यसको प्रत्यक्ष असर सिमेन्ट उद्योगमा देखिएको छ, जसका कारण कम उत्पादनमै सीमित हुनु परेको छ’ । उत्पादनमा असर देखिएसँंगै सिमेन्ट उद्योगले अर्थतन्त्रमा पुर्याउदै आएको योगदानमा कमी आएको उनले बताए ।

नेपालमा संचालित सिमेन्ट उद्योगहरुले बार्षिक रुपमा नेपालमा खपत हुने सिमेन्ट उत्पादन गर्न सक्षम रहेको र सिमेन्टमा आत्मनिर्भर भएको छ । यसरी परनिर्भरता घट्दा अर्थतन्त्रमा योगदान पुर्याउने उद्योगीको बुझाई रहेको छ । नेपालमा विकासका संरचना निर्माण गर्दा चाहिने आवश्यक सामाग्रीमा बर्षैदेखि सिमेन्टको अधिकांस हिस्सा आयात हुँदै आएको थियो । तर, पछिल्लो केही वर्षयता भने यस्तो आयात पूरै घटेको छ ।

हाल नेपालमा सरकारी स्वामित्वका उदयपुर सिमेन्ट र हेटौडा सिमेन्ट संचालनमा रहेका छन । यस्तै निजी क्षेत्रका ६५ बढी उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । सिमेन्टमा निजी क्षेत्रले आक्रामक लगानी गरेसँगै बार्षिक रुपमा उत्पादनमा तीब्रता आएको नेपाल सिमेन्ट उत्पादक संघले जानकारी दिएको छ । निजी क्षेत्रको सहभागितामै ठूलो बैदेशिक लगानी पनि सिमेन्ट उद्योगमा आउँदा सिमेन्ट उद्योग फष्टाएको देखिन्छ । हाल वैदेशिक लगानीमा होङ्सी, शिवम, अर्घाखाँची, मारुती सिमेन्टजस्ता उद्योगहरु सञ्चालनमा छन् ।

फराकिलो सम्भावना

विकासका हिसाबले नेपाल अझै भर्जिन ल्याण्डका रुपमा रहेकाले नेपालमा सिमेन्ट उत्पादन र बजारको उच्च सम्भावना रहेको व्यवसायी बताउँछन् । उदाहरणका रुपमा नेपालमा सडक, जलविद्युत जस्ता ठूला योजना तथा परियोजनाहरु बन्दै गरेको र नेपालमा अबका केही बर्ष अझै सिमेन्टको माग बढ्ने देखिन्छ । सडक निर्माणका साथै देशको शासकीय स्वरुपमा परिवर्तनपश्चात बन्ने भौतिक संरचना र मानिसको बढ्दो बसाईसराईले बन्ने घर तथा अन्य भौतिक संरचनागत विकासका कारण पनि सिमेन्टको माग बढने संघको धारणा रहेको छ ।

संघका अनुसार नेपालमा हाल ६५ बढी सिमेन्ट उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेको र यी उद्योगको वार्षिक उत्पादन क्षमता करीव २५ मिलियन टन रहेको भएतापनि आफ्नो क्षमताको ३० प्रतिशत मात्रै उत्पादन हुँदै आएको छ । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा सकिदा पनि पूँजीगत खर्च जम्मा १६ दशमलव ८ प्रतिशत मात्र हुँदा सिमेन्ट उत्पादनमा कमी आएको देखिन्छ ।

निर्यात सम्भावना

नेपालमा सिमेन्ट उद्योगले छोटो समयमा नै देशलाई आत्मनिर्भर वनाई अर्बौ रुपैयाँको आयात प्रतिस्थापन गर्न सफल हुनुका साथै निकट भविष्यमा नै ठूलो परिणामको सिमेन्ट निर्यात गरी देशको ब्यापार घाटा कम गर्न सहयोग पुर्याउन सक्ने संघको बुझाई रहेको छ । तर, निर्यातमा राज्यले अनुदान नदिए निर्यात गर्न नसक्ने व्यवसायी राठीको बुझाई छ । यसअघि कोभिड महामारीका समयमा पनि उद्योगहरुले आफ्नो उत्पादन क्षमताको करीव ३० प्रतिशतको हाराहारीमा मात्र उत्पादन गरिरहेका थिए ।

उद्योगीका समस्या

नेपालमा हाल संचालित सिमेन्ट उद्योगहरुले अझै उद्योगमैत्री वातावरण नभएको बताउादै आएका छन । यस्तो हुनुमा विविध कारण रहेको उद्योगी बताउछन । जसमा सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि आवश्यक चुनढुंगा खानी उत्खननमा प्रमुख समस्या छ । धेरैजसो खानी बनक्षेत्रमा पर्ने भएकाले खानीकोे प्रयोगसम्वन्धमा बेला–बेला विबाद आउनुले यो व्यवसायका लागि निकै ठूलो चुनौतीको रुपमा रहेको ब्यावसायी बताउँछन ।

पछिल्लो समय विद्युत पर्याप्त विद्युत उपलब्ध हुनाले सहज हुँदै गएपनि यस्तै विजुलीको मूल्य धेरै तिर्नुपर्र्नेे समस्या रहेको संघको बुझाई रहेको छ । यसका साथै आयातित कोइला महङ्गीलगायतका समस्या सिमेन्ट उद्योगका लागि प्रमुख रुपमा रहेको संघको बुझाई रहेको छ । नेपालमा उपलब्ध चुनढुंगा खानीको समुचित उपयोग नहुनु पनि समस्याको रुपमा रहेको सघको बुझाई रहेको छ ।

अवसर

नेपालमा सिमेन्ट उद्योग सञ्चालनकालागि समस्या मात्रै नभएर अवसर र पर्याप्त सम्भावना पनि रहेका व्यवसायीको बुझाई रहेको छ । सिमेन्ट उद्योग संचालनका लागि चाहिने कच्चापदार्थ पर्याप्त रुपमा रहेकाले उद्योग संचालनका लागि सहज रहेको छ । चुनढुंगा पर्याप्त रहनु भनेको व्यवसायका लागि सहज भएपनि प्रयोगसम्बन्धी बेलाबेला आउने व्यवधानले नकारात्मक वातावरण सिर्जना हुने गरेको उद्योगी बताउँछन् । नेपालमा अझै केही बर्ष पूर्वाधार विकासमा धेरै नै लगानी गर्नुपर्ने अवस्था भएकाले सिमेन्ट उत्पादन र व्यवसायका लागि सहज अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL