Logo

सेजको भाडा प्रति वर्गमिटर २० रुपैयाँभन्दा कम राख्न सिफारिस

सेजको भाडा प्रति वर्गमिटर २० रुपैयाँभन्दा कम राख्न सिफारिस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर प्रतिवर्गमिटर २० रुपैयाँभन्दा कम राख्न सिफारिस गरिएको छ । हाल निर्धारण गरिएको भाडादर एकदमै बढी भएकाले अन्य मुलुकको सरह भाडादर निर्धारण गर्न मन्त्रालयलाई सिफारिस गरिएको सेजका कार्यकारी दिर्नेशक डा. चण्डीका भट्टले बताए । ‘अन्य मुलुकमा पनि सेज क्षेत्रभित्र जग्गाको भाडादर प्रति वर्गमिटर २० रुपैयाँभन्दा कम छ,’ उनले भने, ‘हामीले पनि सोही अनुरुप निर्धारण गर्न सिफारिस गरेका छौं ।’

यस अघि सेजको भाडादर प्रति वर्गमिटर १ सय ५० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त भाडादर महङ्गो भएको भन्दै व्यवसायीहरुले आशयपत्र पेश नगरेपछि पुनः भाडादर परिमार्जन गर्न लागिएको हो । केही समय अघि सेज संचालक समितिले उद्योग स्थापनाको लागि आशयपत्र माग गरेको थियो । तर, त्यतिबेला १०/१२ जना व्यवसायीले मात्र आशयपत्र दर्ता गराएका थिए । हाल सेज संचालन कार्यविधि परिमार्जनको अन्तिम चरणमा रहेको छ ।

सेजको भाडादर निर्धारणको लागि सेज विकास समितिले स्थानीय तहका विभिन्न उद्योगी व्यवसायी तथा विभिन्न उद्योग वाणिज्य संघसँग छलफल गरेको थियो । छलफलमा पनि उद्योगी व्यवसायीले हालको भाडादर बढी भएको भन्दै आपत्ती जनाएका थिए ।

भैरहवाको सेज कुल ५२ विघा क्षेत्रफल रहेकोमा फैलिएको छ । जसमध्ये २५ विघामा ६९ वटा उद्योग सञ्चालन गर्न सकिने छ । देशभित्र निर्यातमूखी उद्योग सञ्चालनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी भित्रयाउने उद्देश्य अनुरुप सेजको अवधारणा छ ।

भैरहवा सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन गर्ने उद्योगलाई विशेष प्राथमिकता दिइने छ ।

यसका साथै, सिलाईबुनाईका उत्पादन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पाटपुर्जा, सूचना प्रविधि उद्योग र पेय पदार्थ लगायतका उद्योगहरु समेत संचालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL