काठमाडौं । उद्योग संचालनको लागि डिजेल उपलब्ध नहुँदा नेपाली औषधिको उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको सम्बद्ध व्यवसायीहरुको भनाइ छ । केही समय नाकाबन्दीका कारण कच्चा पदार्थ नपाउँदा संकटमा परेको औषधि उद्योग हाल डिजेलका कारण समस्यामा परेको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक तथा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । ‘औषधि जस्तो अत्वश्यक बस्तु उत्पादनका लागि पनि सरकारले डिजेल उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘जसले गर्दा बजारमा औषधिको ठूलो माग हुँदा पनि हामीले उपलब्ध गराउन सकेका छैनौं ।’
भुकम्प तथा नाकाबन्दीको अवस्थमा भारतीय औषधि नआउँदा पनि नेपाली उत्पादनले ७० प्रतिशतभन्दा बढी माग धानेकोमा हाल आएर ५० प्रतिशतभन्दा कममा झरेको समेत शर्माले जानकारी दिए । ‘यदि एउटा उद्योग फुल फ्लेजमा चलाउने हो भने दैनिक ८ हजार लिटर डिजेल आवश्यक पर्छ,’ उनले भने, ‘तर सरकारले विभिन्न झण्झट दिएर हप्ताको २ हजार लिटर पनि दिँदैन ।’ यदि सरकारले सहज रुपमा पेट्रोलियम उपलब्ध नगराउने हो भने आगामी दिनमा बजारमा औषधि उपलब्ध गराउन नसकिने समेत उनले जानकारी दिए ।
औषधिलगायत अत्यावश्यक बस्तु उत्पादनका लागि सरकारले प्रतिवद्धता अनुरुप सहज रुपमा पेट्रोलियम नदिएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरले बताए । ‘हाल औषधि व्यवसायीहरु ‘ब्ल्याक’ मा डिजेल किनेर उद्योग संचालन गरिरहेका छन्,’ उनले भने, ‘जसले गर्दा उत्पादन लागत एकदमै बढी पर्न गएको छ ।’ यदि आगामी दिनमा पनि ब्ल्याकमै जिडेल किनेर उद्योग चलाउन पर्ने अवस्था आएमा मुल्य समेत बढ्ने उनले जानकारी दिए ।
औषधि उद्योगको लागि डिजेल दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिएपनि आयल निगमबाट लिनलाई एकदमै कठिनाई भएको संघका कोषाध्यक्ष तथा लोमश फर्मास्युटिकल्सका संचालक प्रज्वलजंग पाण्डेले जानकारी दिए । ‘सरकारले औषधि उद्योगलाई केही मात्रामा डिजेल दिइरहेको छ तर धेरै उद्योगहरुले ब्ल्याकमै किनेर चलाउन बाध्य छन् ।’ आयाल निगमसँग डिजेल लिनका लागि धेरै प्रक्रिया पार गर्नुपर्ने समेत उनले जानकारी दिए ।