काठमाडौं । नेपाल आयल निगमले हालसम्म १४ वटा कम्नपीलाई पेट्रोलियम आयातको लागि ‘नो अब्जेम्सन लेटर’ दिएको छ । नेपाल सरकारको कात्तिक २ गतेको निर्णय अनुसार निजी कम्पनीलाई पनि पेट्रोलियम आयातका लागि ‘नो अब्जेक्सन लेटर’ प्रदान गरिएको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिए । ‘पेट्रोलियम आयात गर्न इच्छुक कम्पनीलाई उनीहरुको क्षमता हेरी लेटर प्रदान गरिरहेका छौं,’ उनले भने, ‘तर, उनीहरुले पेट्रोलिय आयात गर्न सकिरहेका छैनन् ।’
धेरै वटा कम्पनीले ‘नो अब्जेक्सन लेटर’ लिएपनि हालसम्म विराट आयालले मात्र पेट्रोलियम ल्याएको छ । लेटर लिएका अन्य कम्पनीले भने हालसम्म पेट्रोलियम आयात नगरेको उनले जानकारी दिए । ‘कुन कम्पनीलाई लेटर दिइयो भन्दा पनि अहिलेको अवस्थामा पेट्रोल आयात गर्नु मुख्य विषय हो,’ उनले भने, ‘जस अनुसार पेट्रोलियम आयात गर्न चाहने सवैलाई लेटर प्रदान गरिरहेका छौं ।’ कोही कम्पनीले इण्डियन आयल कर्पोरेशन तथा कुनैले रिलायन्सबाट पेट्रोलियमबाट आयातका लागि लेटर लिएको समेत खड्काले जानकारी दिए ।
मुल्यको अनुगमन बाणिज्य विभागले गर्ने
निजी क्षेत्रबाट आयात गरिएको पेट्रोलियम पदार्थको मुल्य अनुगमन गर्ने छ । निजी क्षेत्रले आयात गरेको परल मुल्यमा २० प्रतिशतभन्दा कम नाफा राखेर बेच्नुपर्ने वाणिज्य विभागका प्रवक्ता हरिनारायण बेलवासेले जानकारी दिए । ‘नो अब्जेक्सन लेटर पाएकामध्ये हालसम्म विराटले मात्र पेट्रोलियम आयात गरेको छ,’ उनले भने, ‘त्यसले पनि यूरो–४ मापदण्डको ल्याएर बेचेकाले नेपाल आयल निगमको मुल्यसँग तुलना गरेर मुल्य निर्धारण गर्न सकिएन ।’ धेरैवटा कम्पनीले पेट्रोलियम आयातका लागि लेटर पाए पनि हालसम्म ल्याउन नसकेको उनले जानकारी दिए ।