काठमाडौं । सरकारले पेट्रोलियम आयात घटाउने गरी विद्युतीय सवारीसाधन तथा उपकरणलगायतको प्रयोगमा सहुलियत योजना ल्याएपनि यसको खासै ठुलो असर देखिँदैन । नेपालमा उत्पादिन विजुलीको खपत बढाउन र पेट्रोलियम पदार्थको आयात घटाई वैदेशिक व्यापार सन्तुलन कायम गर्न गरिएको सरकारको प्रयास बालुवामा पानीजस्तै भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ५ महिनामा मात्रै १ खर्ब २२ अर्ब १९ करोड ९ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यो तथ्यांक गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २ सय प्रतिशत अर्थात ६२ अर्ब ४९ करोड ४० लाख रुपैयाँले बढि हो । यस्तै यो तथ्यांक चालु आर्थिक बर्षको ५ महिनामा नेपालले गरेको कुल निर्यात व्यापारभन्दा १९ अर्ब २७ करोड रुपैयाँले बढी हो । अर्थात नेपालले कुल वैदेशिक व्यापारबाट हुने व्यापारघाटाको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले मात्रै ओगटेको देखिन्छ । यता नेपाल आयल निगमले भने प्रत्येक बर्ष डिजेल, पेट्रोल, एलपी ग्याँस, हवाई ईन्धनलगायतको आयात बढाईरहेको छ ।
पछिल्लो ५ महिनामा नेपालले सवारीसाधन पनि उत्तीकै मात्रामा आयात गरेकाले सोही अनुसारको पेट्रोलियम पदार्थको आयात भएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । यस अवधिमा नेपालले ५३ अर्ब ४५ करोड रुपैयाँ बराबरको सवारीसाधनहरु आयात गरेको छ । प्रत्येक बर्ष यसरी नेपालका सडकमा थपिने इन्धनबाट चल्ने सवारीसाधनका कारण पेट्रोलियम पदार्थको आयात पनि सोही अनुसार उकालो लागेको देखिन्छ ।
यसरी ५ महिनामै सबैभन्दा बढी अर्थात १ खर्ब बढिको पेट्रोलियम पदार्थको आयात भएको यो पहिलोचोटी नै हो । पछिल्लो समय नेपालमा व्यापारघाटा चुलिरहँदा यसमा सबैभन्दा ठुलो हिस्सा नै पेट्रोलियमको देखिन्छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेसँगै त्यसको असर नेपालले गर्ने आयातमा देखिएको छ । पछिल्लो ५ महिनामा नेपालले ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । जसमा सबैभन्दा बढि हिस्सा अर्थात १ अर्ब २२ अर्ब १९ करोड रुपैयाँ पेट्रोलियमकै छ । यस्तै व्यापारघाटा बढाउने वस्तुहरुमा क्रमशः फलाम तथा स्टिल, ठुला मेशिनरी सामान, विद्युतीय उपकरणहरु, सवारीसाधन र वहुमूल्य प्राकृतिक गहनाहरु परेका छन् । यी वस्तुहरुबाट पछिल्लो ५ महिनामा नेपालले क्रमशः ७० अर्ब, ६३ अर्ब, ५७ अर्ब, ५३ अर्ब र ३६ अर्ब बढिको व्यापारघाटा व्यहोर्नुपरेको छ ।
जसमा नेपालले पछिल्लो ५ महिनामा मोति, हिरा, वहुमूल्य धातु तथा पत्थरलगायतमा मात्रै ३६ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै नेपालबाट पनि यस्तो वस्तु ६३ करोड ६३ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ ।
सरकारले अनियन्त्रित व्यापारघाटा घटाई वैदेशिक मुद्रा संचिति बढाउने र शोधनान्तर स्थितीलाई सन्तुलनमा राख्ने कोशिसहरु जारी गरिराखेको छ । नेपाल राष्ट्र बैंकले व्यापारघाटा घटाउनका लागि अनियन्त्रित आयात हुने चकलेट, स्याम्पु, छाता, लट्ठी, मदिरा, सुर्तिजन्य पदार्थलगायतको आयातमा कडाईसमेत गरेको छ भने सुपारी, सुकुमेल, छोकडा र केराउका आयतमै परिमाणत्मक बन्देज लगाएर रोक लगाएको छ ।
यता उर्जा मन्त्रालय पनि नेपालमा उत्पादित विजुलीको खपत विस्तार गरी नेपालको पैसा नेपालमै राख्न भरपुर कोशिस गरिरहेको छ । कागजमा र भाषणमा मात्रै वैदेशिक व्यापारघाटा घटाउने विभिन्न प्रयास भईरहेको बताईएपनि सोहीअनुसार कार्यान्वयन नहुँदा भने व्यापारघाटा झन उकालो लाग्दै गईरहेको सम्बद्ध अधिकारीहरु बताउँछन् । चालु आवको ५ महिनामा नेपालले ७ अर्ब ३५ करोड बढिको व्यापारघाटा ब्यहोरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५४ प्रतिशतले बढि हो ।
८ अर्बको रासायनिक मल आयात
नेपालले पछिल्लो ५ महिनामा विभिन्न देशबाट ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात गरेको छ । गत बर्ष ग्लोबल टेण्डरमार्फत खरिद गरिएको २३ सय मेट्रिकटन रासायनिक मल विरगंज भन्सारमै कुहाएको सरकारले पुनः यो बर्ष साढे ८ अर्ब बढिको मल आयात गरेको हो । यसरी मल आयात भएपनि गहुँका लागि आवश्यक मल किषानहरुले नपाएको गुनासो बढ्दै गएको छ । पछिल्लो ५ महिनामा नेपालले रासायनिक मलमार्फत ८ अर्ब बढिको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । सरकारले नेपालमै रासायनिक मल उत्पादनका लागि सम्भाव्यता अध्ययन गरेपनि सोहीअनुसारको काम नहुँदा बर्षेनी १५ अर्ब बढिको मल आयात गर्दै आउनुपरेको छ ।
यतिमात्रै नभएर नेपालले पछिल्लो समय ३३ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बढिको अन्न, ३२ अर्ब २३ करोड बढिको औषधि, १९ अर्ब ५७ बराबरको तरकारी आयात गरेको छ । नेपालमै उत्पादन हुने खाद्यान्य, तरकारी, तेलहनलगायतका वस्तुहरु पनि उच्च मात्रामा आयात हुँदा नेपालको व्यापारघाटा नियन्त्रण बाहिर गएको देखिन्छ ।