Logo

उद्योग विभागले सिफारिस गरेजति तेल पाएनन् उद्योगीले, १ लाख लिटरको तोकमा ३ हजारमात्र

उद्योग विभागले सिफारिस गरेजति तेल पाएनन् उद्योगीले, १ लाख लिटरको तोकमा ३ हजारमात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग कलकारखानालाई उद्योग विभागको सिफारिसमा पेट्रोलियम दिने भनिएपनि नेपाल आयल निगमले भने सोही अनुरुप नदिने भएको छ । हाल निगमसँग पेट्रोलियम मौज्दात कम भएको र विभागले तोक लगाएजति दिन नसकिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

विभागले उद्योग कलकारखानमा रहेको जेनेरेटर र उद्योगको उत्पादन क्षमता हेरी एउटै उद्योगलाई १ महिनाको लागि १ लाख लिटरसम्म पेट्रोलियम दिनका लागि निगम समक्ष सिफारिस गरेको थियो । तर, निगमले आफुसँग मौज्दात नभएकोभन्दै बढीमा ३ देखि ४ हजारलिटरसम्म दिने गरेको छ ।

केही समय अघि उद्योग मन्त्रालयले व्यवसायीहरुबाट उद्योग संचालनका लागि पेट्रोलियम माग भएमा विभागको सिफारिसमा आवश्यकता अनुसार दिने प्रतिवद्धता जायर गरेको थियो । विभागले पनि सोही अनुरुप उद्योगको आवश्यकता हेरी पेट्रोलियम दिनका लागि निगम समक्ष सिफारिस गर्न थालेको हो । तर, निगमले भने पेट्रोलियम नभएको भन्दै एकदमै कम मात्र दिँदै आएको एक उद्योगीले जानकारी दिए ।

विभागबाट सिफारिस आएपनि एकदमै अत्यावश्कीय उद्योगलाई मात्र पेट्रोलियम दिने गरेको प्रवक्ता घिमिरे बताउँछन् । ‘निगमसँग एकदमै कम पेट्रोलियम भएकाले माग अनुसार सवै उद्योग कलकारखानालाई दिन सकिँदैन,’ उनले भने ।

यता उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपाने भने मन्त्रालयको निर्देशन अनुसार उद्योगको क्षमता हेरेर मात्रै सिफारिस गर्दै आएको बताउँछन् । ‘कुन उद्योगलाई कति पेट्रोलियम चाहिन्छ सो विषयमा अध्ययन गरेर मात्र निगम समक्ष सिफारिस गर्दै आएको छौं,’ उनले भने, ‘निगमले कुन स्थानबाट कसरी उपलब्ध गराउँछ त्यो हामीलाई थाहा हुँदैन ।’

उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहज रुपमा पेट्रोलियम उपलब्ध गराउनका लागि विभागलाई निर्देशन दिएपनि सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा आफुहरु समस्यामा परेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । हाल डिजेल लिनका लागि उद्योग विभाग र आयल निगम धाउँदैमा दिन बित्ने गरेको समेत एक उद्योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL