काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र दराजबीच सम्झौता भएको छ । साना तथा मझौला उद्योग (एसएमईज) का उत्पादनहरूलाई राष्ट्रिय/अन्तराष्ट्रिय ग्राहकसम्म सहजरूपमा पुर्याउने कार्यलाई अगाडि बढाउन बिहीबार उक्त सम्भौता गरिइको हो ।
एफएनसीसीआई र दराज नेपाल बीच बिहीबार एक समारोहका बीच महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङ ले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताले महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत विक्रीवितरण कार्य गर्नेछ । साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सवैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिंदै आएको छ ।
एफएनसीसीआई र दराज बीचको सम्झौता अनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमईज) ले एक वर्षको लागि दराजको अनलाईन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासंगै थप सुविधाहरू समेत पाउने छन् ।
त्यसैगरी सम्झौता अनुसार साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरूलाई महामारीको आर्थिक प्रभावबाट पुनरूत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलहरूको समेत सुरुवात गरेको छ ।
एफएनसीसीआई र दराज बीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमईज बिक्रेता तथा ग्राहकहरूलाई एकै ठाउँमा लिएर आउने र संगसंगै नेपालमा डिजिटलाइजेसन र ई(कमर्स)क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको छ ।
हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् ।
सम्झौता अनुुसार विशेष रूपमा तयार गरिएका अभियानहरू मार्फत थप प्रचारहरू र दृश्यता प्राप्त गर्ने, जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमईजको लागि कुनै शुल्क नलाग्ने, व्यापक ई–कमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफनो नेटवर्कमार्फत सबै एसएमइजहरूका उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने छ ।
सम्झौतापत्र हस्ताक्षर समारोहलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले दराजसंगको यो सहकार्य एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगा हुने बताए । दक्षिण तथा दक्षिण पूर्वी एशियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको अनलाइन सपिङ प्ल्याटमार्फत साना तथा मझौला उद्यमीहरूले आफना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म पुुरयाउन सकुन भन्ने उद्देश्यले महासंघले अग्रसरता लिएको स्पष्ट पारेका छन् । अध्यक्ष गोल्छाले यो अवसरको भरपुर लाभ उठाउन पनि साना उद्यमीहरूलाई आग्रह गरेका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघले एसएमईजको पुुनरुत्थानका लागि बजारीकरणमा सहयोग गर्ने क्रममा दराजसंग यो सहकार्य गरेको र यसले साना तथा मझौला उद्योगका उत्पादनको राष्ट्रिय एवं अन्तराष्ट्रिय वजारीकरणमा ठूलो सहयोग पुुग्ने र यसबाट संकटमा रहेको यो क्षेत्रले ठूलो लाभ लिन सक्ने बताए ।
उक्त सम्झौताबाट नेपालका अन्य क्षेत्रबाट थप बिक्रेताहरूलाई दराजमा भित्र्याउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग गर्ने विश्वास गरिएको दराजका प्रवन्ध निर्देशक लिनो अलरिङ्गले बताए । एसएमईज क्षेत्रलाई अझै धेरै सहयोगको खाँचो छ त्यसैले हामी नेपालभरका साना व्यवसायहरूको सशक्तिकरणका लागि काम गरिरहनेछौं, प्रवन्ध निर्देशक लिनो अलरिङ्गले स्पष्ट पारे ।