काठमाडौं । पछिल्लो ५ बर्षमा नेपालले झण्डै २ खर्ब रुपैयाँ बराबरको वैदेशिक लगानीको परियोजना स्वीकृत गरेको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/७४ यता मात्रै नेपालले विश्वका विभिन्न देशबाट आएको १ खर्ब ९८ अर्ब १७ करोड ५२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता स्विकृत गरेको हो । सो अबधिमा विभिन्न ६१ देशबाट आएको लगानी प्रतिवद्धतामार्फत ६४ हजार ८ सय ४६ जनाले रोजगारी पाउने तथ्यांकमा उल्लेख छ ।
यस अवधिभित्र वैदेशिक लगानी आकर्षित गर्न बनेका ऐन, कानुन, नीति नियम लगायतहरुले वैदेशिक लगानी बढाउनुमा ठुलो सहयोग गरेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर, पनि धेरै बिषयहरु अझै सुधार्नुपर्ने देखिन्छ । विभिन्न अध्ययनअनुसार नेपालले सन २०३० सम्म पूर्वाधार क्षेत्रमा मात्रै ११४ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने औंल्याएको छ । अर्थात नेपालले बार्षिक औषतमा ६ देखि ८ खर्ब रुपैयाँ विदेशी लगानी भित्र्याउनुपर्नै भएपनि त्यो भने हुन सकेको छैन । तथ्यांकलाई आधारमा मान्दा ५ बर्षमा सबै क्षेत्रमा गरी जम्मा २ खर्ब मात्रै वैदेशिक लगानीको प्रतिवद्धता आएको छ
भारतलाई उछिन्दै चीनको लगानी धेरै
नेपालले पछिल्लो ५ बर्षमा नेपालमा विभिन्न ६१ देशहरुबाट आएको वैदेशिक लगानी प्रतिवद्धता स्विकृत गरेको छ । जसमा सबैभन्दा ठुलो हिस्सा चीनको छ । विसं २०७०/७१ सालअघि नेपालमा सबैभन्दा धेरै लगानी भित्र्याउने देशमा भारतले एकछत्र राज गर्दै आएको भएपनि त्यसयता भने चीन भारतभन्दा अर्बाै रुपैयाँले अघि देखिन्छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७३/७४ यता हालसम्म चीनबाट १ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
यो प्रतिवद्धतामार्फत ३९ हजार ६ सय ६२ जनाले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ । धेरै लगानी भित्र्याउने देशको सूचीमा चीन पहिलो नम्बरमा हुँदा भारत भने दोस्रो स्थानमा छ । भारतले पछिल्लो ५ बर्षमा नेपालमा जम्मा १८ अर्ब ११ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरेको छ ।
यसरी पछिल्लो समय नेपालमा चीनको लगानी बढ्नुमा भारतमा सहजै निकासीलाई लिन सकिन्छ । अर्थशास्त्रीहरुका अनुसार नेपालमा उत्पादिन वस्तुहरु नजिकको बजार भारतमा सहजै निकासी गर्न सकिने भएकाले चिनियाँ लगानीकर्ताहरु लगानीको बजार खोज्दै नेपाल आईपुगेका हुन् । तर भारतबाट हुने लगानी भनेबमोजिम उकालो लागिसकेको छैन ।
यस्तै धेरै लगानी भित्र्याउने देशहरुमा क्रमशः अमेरिका, स्पेन, सिंगापुर, हङ्कङ्, दक्षिण कोरियालगायतका देशहरु छन् । यी सबै देशबाट नेपालमा अर्ब बढिको लगानी प्रतिवद्धता आएको देखिन्छ ।
यस्तै यस अवधिमा नेपालले बेल्जियम, पाकिस्तान, टर्की, युएईलगायतका देशहरुबाट आएको लगानी पनि स्विकृत गरेको देखिन्छ । यस्तै पछिल्लो ५ बर्षमा नेपालमा क्रोयसिया, चेक रिपब्लिक, ईजिप्ट, लेबनान, पाराग्वे, फिलिपीन्स र साउदी अरेबीयाबाट भने जम्मा ५० लाख बराबरको मात्रै लगानी प्रतिवद्धता आएको छ ।
चालु आर्थिक बर्षको पछिल्लो साढे ४ महिना अर्थात साउनदेखि मध्ये मंसिरसम्म पनि नेपालमा २९ अर्ब बढिको लगानी प्रतिवद्धता आएको देखिन्छ । जसमा सबैभन्दा बढि हिस्सा चीनकै छ । यस अवधिमा आएको कुल वैदेशिक लगानी प्रतिवद्धतामध्ये चीनको मात्रै २३ अर्ब ५ करोड बढि छ । यस अवधिमा विभिन्न १२ देशबाट २९ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा ७ हजार ७ सय ३८ जनाले रोजगारी पाउने तथ्यांकमा उल्लेख छ ।
कुन क्षेत्रमा बढि ?
क्षेत्रगत हिसावले हेर्दा पनि नेपालमा पछिल्लो ५ बर्षमा सबैभन्दा धेरै लगानी पर्यटन र सेवा क्षेत्रमा आएको देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा पछिल्लो ५ बर्षमा पर्यटन क्षेत्रका ८ सय ७ परियोजनामार्फत ६१ अर्ब ४३ करोड बढिको लगानी प्रतिवद्धता आएको छ । यस्तै धेरै लगानी भित्र्याउने अर्काे सेवा क्षेत्रमा पनि यस अवधिमा ५५ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । सेवा र पर्यटन क्षेत्रमा लगानीको ओईरो आउँदा उर्जामुलक, पूर्वाधार, संचार तथा सूचना र कृषि तथा वन पैदावर क्षेत्र भने लगानी प्रतिवद्धताका आधारमा क्रमशः तेस्रो, चौथो, पाँचौं र छैठौंमा परेका छन् । यी क्षेत्रहरुमा पछिल्लो ५ बर्षमा क्रमशः ५५, ४४, २९, ११ र ४ अर्ब रुपैयाँ बढिको लगानी प्रतिवद्धता आएको हो ।
बढ्दो लगानी प्रतिवद्धता
चालु आर्थिक बर्षको पछिल्लो साढे ४ महिनामा मात्रै नेपालमा २९ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यसले अबका दिनमा विदेशी लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्ला २ आर्थिक बर्ष नेपालमा कोरोना महामारीका कारण वैदेशिक लगानीमा गिरावट आएपनि यो बर्ष भने बढ्ने अनुमान गरिएको उद्योग विभागका प्रवक्ता ज्ञानेन्द्र पराजुली बताउँछन् । ‘अघिल्ला २ बर्ष कोरोनाकै कारण वैदेशिक लगानीमा गिरावट आयो,’ उनले भने, ‘यो बर्ष भने पहिलो ४ महिनामै करिव ३० अर्बको प्रतिवद्धता आउँदा राम्रो छनक देखिएको छ ।’
विभागको तथ्यांकलाई हेर्दा आर्थिक बर्ष २०७३/७४ मा नेपालमा १५ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएकोमा त्यसको पछिल्लो बर्ष अर्थात आव २०७४/७५ मा ह्वात्तै बढेर ५५ अर्ब ७६ करोड पुग्यो । यस्तै त्यसको पछिल्लो बर्ष २०७५/७६ मा नेपालले २५ अर्बको मात्रै वैदेशिक लगानी प्रतिवद्धता स्विकृत गरेको थियो त्यसको पछिल्लो २ बर्ष क्रमशः ३७ र ३२ अर्बको लगानी प्रतिवद्धता स्विकृत गर्यो । तर चालु आवको सुरुवात भने राम्रो देखिन्छ ।
ट्याक्स हेवन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डको होटलमा आकर्षण
उद्योग विभागको तथ्यांक हेदा पछिल्लो ५ बर्षमा ट्याक्स हेवन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डबाट ३ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको देखिन्छ । करबाट उन्मुक्ति पाउन रकम जम्मा गरिने ’टेक्स हेवन’ मध्येको एउटा ब्रिटिश भर्जिन आइल्याण्ड्सबाट पछिल्ला ५ बर्षमा विभिन्न २ सय ७२ परियोजनामार्फत ३ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । पछिल्लो ५ बर्षमा जम्मा २ बर्ष मात्रै नेपालमा ब्रिटिस भर्जिन आईल्याण्डबाट लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ । जसमा उक्त देशबाट आएको लगानी बढिजसो होटलमा भएको देखिन्छ ।