Logo

उद्योग विभागको सिफारिसमा उद्योगीले पाउन थाले पेट्रोलियम, एउटैले १ लाख लिटरसम्म लगे

उद्योग विभागको सिफारिसमा उद्योगीले पाउन थाले पेट्रोलियम, एउटैले १ लाख लिटरसम्म लगे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागको सिफारिसमा उद्योग कलकारखानालाई पेट्रोलियम दिन थालिएको छ । बढ्दो लोडसेडिङ र बजारमा पेट्रोलियमको सहज आपूर्ति नभएपछि विभागको सिफारिसमा दिन थालिएको हो ।

उद्योगको क्षमता अनुसार पेट्रोलियम दिन थालिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘हामीले उद्योग कलकारखानामा जेनेरेटर संचालनमा लागि डिजेल दिन थालेका छौं,’ उनले भने, ‘जेनेरेटर र उद्योगको उत्पादन क्षमता हेरी पेट्रोलियम दिनका लागि नेपाल आयल निगमलाई सिफारिस गर्ने छौं ।’ विशेषरी विभागले उद्योग कलकारखाना संचालनका लागि डिजेल दिनका लागि निगम समक्ष सिफारिस गर्दै आएको छ ।

उनका अनुसार जेनेरेटरको क्षमता, दैनिक कति घण्टा चल्छ र त्यसले कति डिजेल खपत गर्छ भन्ने विषय मुल्याङ्कन गरेर मात्र पेट्रोलियम दिइने न्यौपानेले जानकारी दिए । केही समय अघि उद्योग मन्त्रालयले व्यवसायीहरुबाट उद्योग संचालनका लागि पेट्रोलियम माग भएमा विभागको सिफारिसमा दिने प्रतिवद्धता जायर गरेको थियो । विभागले पनि सोही अनुरुप पेट्रोलियम दिनका लागि सिफारिस गर्न थालेको हो ।

उद्योग संचालनका लागि १ हप्तादेखि १ महिनासम्मका लागि पुग्ने डिजेल दिँदै आएको न्यौपाने बताउँछन् । ‘उद्योगीले माग गरेको आधारमा मुल्याङ्कन गरेर पेट्रोलियम दिन सिफारिस गर्दै आएका छौं,’ उनले भने, ‘विभागको सिफारिसमा आवश्यकता अनुसार १ लाख लिटरसम्म डिजेल लगेका छन् ।’ विशेषगरी डाबर नेपाललाई १ लाख लिटर डिजेल दिन निगमलाई सिफारि गरेको उनले जानकारी दिए ।

उद्योगीलाई कुन पम्पबाट पेट्रोलियम दिने भन्ने विषयमा भने आयाल निगमले तोक्ने छ । विभागले पेट्रोलियम पदार्थ दिनका लागि निगम सिफारिस मात्र गर्ने छ । उद्योगीले निगमले तोकेको स्थानबाट लैजानुपर्ने न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL