Logo

एफएनसीसीआई र त्रिवि स्कूल अफ म्यानेजमेन्टले इण्डष्ट्री अकाडेमिया गठन गर्ने

एफएनसीसीआई र त्रिवि स्कूल अफ म्यानेजमेन्टले इण्डष्ट्री अकाडेमिया गठन गर्ने



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । यस सम्बन्धमा दुबै संस्था इण्डष्ट्री अकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।

महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा संयुक्त रुपमा आइतबार महासंघ सचिवालयमा आयोजना भएको छलफल कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने– हामी सहकार्य गर्न तयार छौं ।

इण्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमती छ । अध्यक्ष गोल्छाले भने– वास्तवमा यो दुइटा क्षेत्रनै यस्तो क्षेत्र हो जसको वलियो सहकार्य हुन सक्यो भने मात्र मुलुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ ।

महासंघले साना तथा मझौला उद्योग, स्टार्टअप, मेडइन नेपाल जस्ता अभियानलाई विशेषजोड दिई अघि बढाएकाले यसका लागि दक्ष जनशक्ति पहिलो आवश्यकता हुुँदा जनशक्ति विकासमा टीयूबाट ठूलो सहयोग हुन सक्ने बताए । यसका लागि दुवै संस्था बीच एउटा स्थायी खालको संरचना नै तयार गरेर जानुपर्नेमा जोड दिए ।

सो अवसरमा सोमटुुले तयार गरेको नयाँ कोर्श अफ स्टडीका बारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरुका तर्फबाट सल्लाह सुझाव समेत संकलन गरिएको थियो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन दिनेशमणी घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्व सदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्व डिन प्राध्यापक डाक्टर देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताए । यस कार्यमा महासंघसँग सहकार्य हुने प्रतिवद्धता समेत जनाए ।

महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, महासंघको वस्तुुगत परिषद्का पदाधिकारी एवं सदस्यहरु, वस्तुुगत संघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, विश्वविद्यालय अनुदान आयोगका पूर्व सदस्य सचिव, विश्व विद्यालयका पदाधिकारी, प्राध्यापक, सहप्रध्यापक, स्नातकोत्तर अध्ययन विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा सोमटुबाट तयार पारिएको शैक्षिक कोर्श प्रस्तुुत गरिएको थियो । सो अवसरमा सोमटुकोतर्फबाट मुलुकको अवश्यकता अनुसारको दक्ष जनशक्ति विकास गर्ने सोच अनुसार कोर्श संशोधनको तयारी भइरहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा महासंघकातर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा लिडर तयार गर्ने गरी शैक्षिक कोर्श संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । शैक्षिक कोर्श शंसोधन गर्दा शिक्षालाई व्यवहार उपयोगी बनाउने, जनशक्ति व्यवस्थापन, गुणस्तर सुधार, विदेशी केश स्टडीमा भन्दा नेपाली संदर्भमा केश स्टडीमा जोड, आपूर्ति श्रृंखलाको व्यवस्थापन, ईकमर्सलाई उच्च प्राथमिकता, इन्भेन्टरी म्यानेजमेन्ट, नेगोशिएसन, वाणिज्य मध्यस्थता, ट्रेड डाटा एनालाइशिस लगायतका विषयलाई पनि समेटनु पर्ने सुझाव सो अवसरमा निजी क्षेत्रबाट दिइएको थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहार उपयोगी, मुलुकको उद्योग व्यवसाय, शीप विकासमा केन्द्रीत, उच्च प्राविधिक ज्ञान दिने खालको हुनुपर्ने सुझाव दिए ।

वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले लक्ष्मी र सरस्वतीको यो संयुक्त प्रयासलाई सफल पार्न सकियो भने प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डाक्टर ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डाक्टर जितेन्द्र डंगोलले नयाँ कोर्श अफ स्टडीका बारेमा जानकारी गराएका थिए । महासंघको वस्तुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी र सुनिल गोपाल श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका कामु निर्देशक डा. गोविन्द तामाङले दुबै संस्था बीचको सहकार्यको महत्वमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्