काठमाडौं । सरकारले चिनीमिलसँग तत्काल विजुली खरिद गर्ने भएको छ । चिनीमिलसँग विद्युत खरिदका लागि तत्काल प्रक्रिया अघि बढाउने अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘चिनीमिलसँग विजुली खरिदका लागि ऊर्जा मन्त्री तथा ऊर्जा सचिवसँग छलफल गर्ने छु,’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उनले भने, ‘छलफल लगत्तै विजुली खरिद गर्ने छौं ।’
झण्डै ४ वर्ष अघि मन्त्रीपरिषद्ले चिनीमिलसँग बिजुली खरिद गर्ने सम्बन्धमा निर्णय गरेको थियो । तर, हालसम्म पनि खरिदगर्न नसक्दा चिनीमिलबाट उत्पादित बिजुली खेर गइरहेको छ । देशमा रहेका १० वटा चिनीमिलले आफुलाई चाहिने विजुली आफै उत्पादन गर्दै आएका छन् ।
हाल चिनीमिलसँग झण्डै ४० मेगाबाट बिजुली बेच्नसक्ने क्षमता रहेको लुम्बिनी चिनी मिलका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका रोजगारदाता परिषद्का उपसभापति मनिषकुमार अग्रवालले जानकारी दिए । ‘चिनी उद्योगसँग आफुलाई चाहिने वाहेक थप ४० मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता छ,’ उनले भने, ‘तर, ‘खरिदका लागि सरकारले कुनै प्रक्रिया अघि बढाएको छैन ।’ उक्त विजुली उत्पादनका लागि चिनी मिलसँग सम्पूर्ण पूर्वाधार तयार भएको समेत उनले जानकारी दिए ।
बिजुली खरिद गर्ने नियकाय नेपाल विद्युत प्राधिकरणले पनि चिनीमिलसँग विजुली खरिदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । सो कार्यका लागि पावर पर्चेज एग्रीमेण्ट (पीपीए)को ड्राफ्ट तयार गरी स्वीकृतिका लागि ऊर्जा मन्त्रालयमा पठाइसकेको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेश काफ्लेले बताए । ‘हाल पीपीएको ड्राफ्ट स्वीकृतिका लागि मन्त्रालय पुगेको छ,’ उनले भने, ‘स्वीकृति भएर आउने वित्तिकै खरिद प्रक्रिया अघि बढ्ने छ ।’
तर, चिनीमिलसँग विद्युत खरिदका लागि पूर्वाधार तयार गर्न भने केही समय लाग्ने उनले जानकारी दिए । ‘सवै चिनीमिलबाट उत्पादित विजुली एउटै ग्रीडका जोड्न सकिँदैन,’ उलने भने, ‘ग्रीडमा जोड्नका लागि फरक–फरक लाइन बनाउन पर्ने भएकाले त्यसका लागि सम्भाव्यता अध्ययनको जरुरी छ ।’