काठमाडौं । नेपालमा उत्पादन हुने प्राय वस्तुहरु नेपाली बजारमै पुर्याउन अप्ठ्यारो पर्छ । पछिल्लो समयको आयात–निर्यातको तथ्यांक हेर्दा पनि नेपालले उत्पादन गर्ने वस्तुहरुकै आयात बढ्दो छ । तर, नेपालमा उत्पादन भएको छुर्पी भने बर्षौदेखि अमेरिकी बजारमा निर्यात हुने गरेको छ । नेपाली बजारमा उत्पालन भएको दुर्पीको बजार अमेरिकामा बढ्दै गएपछि पछिल्ला बर्षहरुमा नेपालबाट हुने निर्यातसमेत बढिरहेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।
व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र टिईपीसीको तथ्यांकअनुसार पछिल्लो ५ बर्षमा नेपालले ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको छुर्पी विदेशमा निर्यात गरेको छ । नेपालले निर्यात गरेको कुल छुर्पीको ८७ प्रतिशत बी छुर्पी अमेरिकामा मात्रै निर्यात हुने गरेको छ । टिईपीसीको तथ्यांक अनुसार यस अवधिमा अमेरिकामा मात्रै नेपालले ४ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ ।
५ बर्षमा नेपालबाट निर्यात गरिएको छुर्पीको तथ्यांकलाई केलाउँदा यसको निर्यात प्रतिवर्ष ६० देखि ८० प्रतिशतको वृद्धि हुँदै आएको छ । आर्थिक बर्ष २०७३/७४ मा नेपालले अमेरिकालगायत अन्य देशहरुमा ५४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो ।
त्यसको पछिल्लो बर्ष अर्थात आव २०७४/७५ मा नेपालले यसको निर्यातमा ६० प्रतिशतको वृद्धि गरी ८५ अर्ब ७९ करोड रुपैयाँको छुर्पी निर्यात गर्यो । यसरी विदेशी बजारमा नेपाली छुर्पी मोह बढ्दै गएपछि प्रतिबर्ष यसको माग पनि बढ्दै गएको छुर्पी निर्यातक रेशम पोखरेल बताउँछन् ।
यस्तै आर्थिक बर्ष २०७५/७६ मा नेपालले अघिल्लो बर्षको तुलनामा ८० प्रतिशत बढि अर्थात १ अर्ब ५ करोड २८ लाख रुपैयाँ र त्यसको पछिल्लो बर्ष २०७६/७७ मा पुनः ८३ प्रतिशतले बढाई १ अर्ब २२ करोड ८३ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो । गत आर्थिक बर्ष भने नेपालले अघिल्लो आर्थिक बर्षको तुलनामा ६० प्रतिशत बढि अर्थात १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो ।
यस्तै चालु आर्थिक बर्षको पछिल्लो ३ महिनामा भने नेपालले विदेशमा ६३ करोड ५७ लाख रुपैयाँ बराबरको ४ लाख ३ हजार ३ सय ५३ किलो छुर्पी निर्यात गरिसकेको छ । यसरी प्रतिवर्ष नेपालको आफ्नै उत्पादन विदेशमा निर्यात हुँदा नेपाली अर्थतन्त्रमा समेत ठूलो सहयोग पुग्ने नेपाल निर्यात परिषदका उपाध्यक्षसमेत रहेका छुर्पी उत्पादक पोखरेल बताउँछन् ।
दुधको कमी
पछिल्लो समय नेपाली छुर्पीको माग उच्च रहेपनि सोही अनुसार उत्पादन भने हुन सकेको छैन । लगातार माग बढिरहेपनि सोहीअनुरुप नेपालमा दुध उत्पादन हुन नसकेपछि छुर्पी पनि उत्पादन गर्न नसकिएको व्यवसायी पोखरेलले बिजखबरलाई बताए । उनका अनुसार नेपालमा गाईको मास फार्मिङ कतै नभएकाले भनेबमोजिम दुध पाईँदैन । दुध नपाईएपछि विदेशमा माग भएजछि छुर्पी पुर्याउन नसकिएको उनले बताए । ‘हाल मलाई मात्रै मासिक ५ कन्टेनरसम्म छुर्पीको माग भएको छ,’ उनले भने, ‘तर मैले पछिल्लो ४ महिनामा जम्मा ११ कन्टेनर अर्थात १ लाख ६० हजार किलो पठाएको छु ।’
उनका अनुसार कसैले गाईको मास फार्मिङ गरेर धेरै दुध उत्पादन गर्न सके जति पनि दुधको खपत गर्न सकिने अवस्था छ । तर, यसको व्यवस्था नहुँदा बजारमा माग भएजति माल पठाउन सकिएको छैन । हाल नेपालमा छुर्पी उत्पादन गरी विदेश निर्यात गर्ने ८ देखि १० ओटा उद्योग छन् । त्यसअघि नेपालमा यस्तो छुर्पी उत्पादन गरी विदेशमा पठाउने २० ओटासम्म उद्योग भएपनि क्वालिटी मेन्टेन गर्न नसक्दा धेरै उद्योग पलायन भएर गए । नेपालमा उत्पादन गरिएको छुर्पी अमेरिका, क्यानडा, जापान, बेलायतलगायत ३१ देशमा निर्यात हुन्छ ।
हालसम्म नेपालले निर्यात गर्ने छुर्पीको सबैभन्दा ठूलो परिमाण अमेरिका जान्छ भने त्यसपछि नेपाली छुर्पीको ठुलो आयातकर्ता क्यानडा हो । बिदेशमा नेपालको छुर्पी बिरालो तथा कुकुरको खानाको रुपमा हार्मोनी कोड २३०९१००० मार्फत निर्यात हुँदै आएको छ ।