Logo

आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्वाचित, १७ सदस्यीय परिषद्मा सरकारले तीन सदस्य मनोनीत गर्ने

आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्वाचित, १७ सदस्यीय परिषद्मा सरकारले तीन सदस्य मनोनीत गर्ने



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रर्वद्धनको काम गर्दै आएको छ ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका छन् ।

१७ सदस्यीय परिषद्मा हाल १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ ।

नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् । सदस्यमा चार्टर्ड एकाउन्टेन्टकोतर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएक छन् ।

अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए । आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ ।
चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए । यसका लागि आइक्यानले संस्थागतरूपमै सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पुर्याउने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL