काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । बिहीबार कोषले एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।
सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७÷७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।
सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि .७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ । .यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु. २ लाख प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु. ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी कोषले सामान्य औषधोपचारको हकमा रु. १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च सोधभर्ना गर्ने गरेको छ ।
वि.सं २०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, वि.सं.२००१ मा निजामती प्रोभिडेण्ट फण्ड र वि.सं.२०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कार्वाही संचालन गरिएको थियो ।