Logo

नाकाबन्दीको प्रभाव, धराशयी बन्दै नेपाली जुत्ता उद्योग

नाकाबन्दीको प्रभाव, धराशयी बन्दै नेपाली जुत्ता उद्योग


रामराजा श्रेष्ठ
27
Shares

भारतीय नाकाबन्दीले कच्चा पदार्थ आयातमा समस्या भएपछि नेपाली जुत्ता उद्योग संकटमा परेको छ । नेपाली जुत्ता उत्पादकहरुले भारत, चीनलगायतका देशबाट कच्चा पदार्थ ल्याएर जुत्ता बनाउँदै आएकोमा नाकाबन्दीले गर्दा ठूलो समस्या उत्पन्न भएको व्यवसायीहरु बताउँछन् ।

भुकम्प तथा नाकान्दीभन्दा पहिला नेपाली जुत्ता तथा चप्पलले नेपाली बजारको ६० प्रतिशतभन्दा बढी माग धान्दै आएकोमा हाल उद्योग नै धरासयी हुने अवस्थामा पुगेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन नेपाल (एफम्यान)का महासचिव तथा स्काइ सुजका प्रवन्ध निर्देशक मनोजकुमार श्रेष्ठ बताउँछन् । ‘नेपालमा वार्षिक ५ करोड जोर जुत्ता चप्पल खपत हुने गरेकोमा त्यसको झण्डै ६५ प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगटेको थियो,’ उनले भने, ‘जुत्ता चप्पलमा आत्मनिर्भर बन्न लागेको बेलामा नाकाबन्दीले उद्योग नै धराशयी हुने अवस्थामा पुगेको छ ।’

nepali-shoe

बन्दले कच्चा पदार्थ अभाव हुँदा झण्डै ६० प्रतिशत उद्योगहरु बन्द अवस्थामा रहेको एफम्यानका पूर्व अध्यक्ष तथा वेश फुटवेयरका प्रवन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए । ‘हाल धेरै उद्योगहरुले कुल क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्,’ उनले भने । केही ठूला उद्योगहरु कम क्षमतामा चलेपनि साना उद्योगहरु भने बन्द गर्नुपर्ने अवस्थामा पुगेको समेत उनले जानकारी दिए ।

नेपाली जुत्ता चप्पलले आफ्नो बजारीकरणलाई तीब्र रुपमा अघि बढाएको बेलामा भुकम्प तथा नाकाबन्दीले ठूलो असर पुर्याएको एफम्यानका अध्यक्ष तथा कोसेली सुजका प्रवन्ध निर्देशक रविनकुमार श्रेष्ठले बताए । ‘नेपाली उत्पादनहरु पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेका थिए,’ उनले भने, ‘तर, बन्दका कारण सीमा नाकामा विदेशी जुत्ताको वाहुल्यता बढ्न थालेको छ ।’ नाकाबन्दीले उत्पादनमा मात्र नभई बजारीकरणमा समेत ठूलो समस्या पारेको उनले जानकारी दिए ।

भुकम्प पछि सामान्य रुपमा फर्कन लागेको नेपाली जुत्ता उद्योग नाकाबन्दीले थला नै परेको एफम्यानका पूर्व अध्यक्ष तथा शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइले बताए । ‘भुकम्प पश्चात चीनबाट केरुङ नाका हूँदै भर्खर केही मात्रामा कच्चा पदार्थ आउन शुरु गरेको छ भने भारतबाट नाकाबन्दीको कारण आएको छैन,’ उनले भने, ‘कच्चा पदार्थ विदेशबाट आयात गर्नुपरेकाले उद्योग संचालनमा ठूलो समस्या आएको छ ।’ कच्चा पदार्थ अभावका उद्योग संचालन गर्न नसक्दा जुत्ता उद्योग धराशयी हुनुका साथै करोडौं रुपैयाँको क्षति भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL