Logo

महामारीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै चौधरी फाउन्डेसन, आपतकालीन स्वास्थ्य व्यवस्थापन लागि १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने

महामारीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै चौधरी फाउन्डेसन, आपतकालीन स्वास्थ्य व्यवस्थापन लागि १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने



काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गरिने फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनका अनुसार वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिनेछ । यससम्बन्धी सहमतिमा एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने फाउन्डेशनले जनाएको छ ।

कोभिड¬–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही यी परियोजनामा काम गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसैगरी फाउन्डेशनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको जनाएको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकासँग सहकार्य गर्ने जनाएको छ । अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न आवश्यक टिम खटिइरहेको समेत जनाएको छ ।

‘हामीलाई विश्वास छ कि हामी केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुनेछौं,’ फाउन्डेशनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् ।’

त्यस्तै फाउन्डेसनले तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पताललाई उपलब्ध गराउने जनाएको छ । यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालमा वितरण गरिने जनाएको छ । फाउन्डेशनका अनुसार आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो,’ उनले भने, ‘यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन् । हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।’

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रमअन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो । साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो । फाउन्डेसनले केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएको थियो ।

चौधरी ग्रुपले हरेक विपदमा जनताको साथमा रहेर उनीहरूको पीडामा साथ दिँदै आएको इतिहास छ । २०७२ सालको महाभूकम्पपश्चात् चौधरी फाउन्डेसन भूकम्पबाट घरबारविहीन बनेका २ हजार ५ सय भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माणमा सहभागी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL